कोशी प्रदेशसभाका लागि वीरेन्द्र सभागृह ‘उपयुक्त’, सरकारलाई नयाँ भवन निर्माणको आग्रह

कोशी सरकारले बजेटबाट २५ प्रतिशत कटौती

आश्विन २८, २०८२

पर्वत पोर्तेल

Birendra Hall 'suitable' for Koshi State Assembly, request to the government to construct a new building

What you should know

विराटनगर — भदौ २३ को जेन-जी आन्दोलन र २४ प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट ध्वस्त पारिएको कोशी प्रदेशसभा बैठक र सचिवालय संचालनका लागि अस्थायी भवनका रुपमा वीरेन्द्र सभागृहलाई उपयुक्त ठहर्‍याइएको छ । 

तोडफोड, आगजनी र लुटपाटका कारण प्रदेशसभा बैठकस्थलसमेत पूर्ण रूपमा नष्ट भएपछि सभाको बैठक तथा कामकाज ठप्प छ । सभामुख अम्बरबहादुर विष्टको अध्यक्षतामा बसेको प्रदेशसभा सचिवालय व्यवस्थापन तथा सञ्चालन समितिको सोमबारको बैठकले वैकल्पिक रूपमा विराटनगर महानगरको स्वामित्वमा रहेको ‘वीरेन्द्र सभागृह’लाई प्रदेशसभा बैठक र सचिवालय सञ्चालनका लागि उपयुक्त ठहर गरेको हो । एक प्रतिनिधिमण्डलले कटहरी गाउँपालिकामा रहेको कृषि केन्द्र र वीरेन्द्र सभागृहको हालै अवलोकन गरेको थियो । 

समितिले उक्त भवन भाडामा लिन आवश्यक बजेट व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । साथै, भवन प्रयोगका लागि विराटनगर महानगरसँग जीटुजी प्रक्रिया अपनाउने तयारीसमेत भएको सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए ।

बैठकले ध्वस्त पारिएको प्रदेशसभा भवन र सचिवालयलाई हालकै स्थानमा वा उपयुक्त नयाँ स्थान चयन गरी पुनर्निर्माण गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । 

कोशी प्रदेशसभाको सातौं अधिवेशन असोज १० गते अन्त्य भएको थियो । आठौं अधिवेशन वीरेन्द्र सभागृहमा संचालन गर्ने गरी तयारी सुरु भएको सचिवालयले जनाएको छ । 

कोशी सरकारले बजेटबाट २५ प्रतिशत कटौती 

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याई रोक्का गर्ने निर्णय गरिएको छ । उनले भने, ‘जेन-जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयहरूको पुनर्निर्माण र हालैको बाढी–पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि बजेट कटौती गरिएको हो ।’

मन्त्री भण्डारीका अनुसार प्रदेश सरकारले कटौती गरिएको रकमलाई पुनर्निर्माणमा खर्च गर्ने तयारी भइरहेको छ । 

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा इन्द्र सापकोटालाई खटाउने निर्णय पनि गरेको छ ।

बैठकले विपद्पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रोक्का रकमलाई रकमान्तर गर्न अनुमति दिने निर्णयसमेत गरेको छ ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully