फिदिम–फालौट सडक सञ्चालनमा 

फेमे खोला क्षेत्रमा बाढीले क्षति पुर्‍याएको सडक पुनःस्थापना गरेसँगै सोमबार साँझदेखि यो सडक सञ्चालनमा आएको हो ।

आश्विन २७, २०८२

लक्ष्मी गौतम

Fidim-Falout road in operation

फिदिम — बाढीका कारण अवरुद्ध नांगीन–याङनाम–फालौट सडक सञ्चालनमा आएको छ । फेमे खोला क्षेत्रमा बाढीले क्षति पुर्‍याएको सडक पुनःस्थापना गरेसँगै सोमबार साँझदेखि यो सडक सञ्चालनमा आएको हो ।

फेमे खोलाको बाढीसँगै ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध सडक खण्डमा पर्ने फिदिमदेखि फालेलुङ क्षेत्रको पहिरो पन्छाइए पनि फिदिम १ र ११ लाई सिमाना जोड्ने फेमे खोला क्षेत्रको सडक कटान र डाइभर्सन बगाएका कारण असोज १८ देखि अवरुद्ध थियो ।

यसैवीच पूर्वाधार विकास कार्यालय पाँचथरले एक्स्काभेटर र प्राविधिक परिचालन गरेर सडक सञ्चालनमा ल्याएको हो । बाढीले कल्भर्ट र डाइभर्सन बगाएको क्षेत्रमा २२ वटा हृयुम पाइप राखेर पानी कटाउनका साथै ३ सय मिटर सडक क्षेत्रमा पहुँच मार्ग बनाइएको पूर्वाधार विकास कार्यालयका प्रमुख शैलेन्द्र सिंहले बताए ।

फेम खोला खण्डमा बनाइएको कल्भर्ट र डाइभर्सन पुनः असोज १७ गते बगाएपछि यो सडक अवरुद्ध थियो । सडक अवरुद्ध हुँदा फिदिम नगरपालिका-१०, ११, १२ र १३ नम्बर वडासँगै फालेलुङ गाउँपालिकाका विभिन्न स्थानमा खाद्यान्न र उपभोग्य बस्तु लैजान तथा मानिसलाई आउजाउ गर्न समेत समस्या भइरहेको थियो ।

अवरोध हटाइएसँगै फिदिम तर्फबाट खाद्यान्न बोकेका पिकअप फेमे पारि जान थालेका छन् भने खोला पारि अड्किएका सवारी साधन सदरमुकामतर्फ आएका छन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully