इलामका ६ वटा स्थानीय तहमा मात्रै ९ सय १९ वटा घरमा क्षति

चारसय वटा भौतिक संरचना भत्किए,चार पालिकाको तथ्यांक संकलन हुँदै 

आश्विन २७, २०८२

लक्ष्मी गौतम

Damage to 919 houses in 6 local levels of Ilam alone

What you should know

पाँचथर — असोज १८ गते अविरल वर्षासँगै गएको पहिरोले इलाम जिल्लाका ६ वटा स्थानीय तहमा ९ सय १९ वटा घरमा क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक भएको छ । यस्तै चारसय वटा भौतिक संरचनामा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुर्योदय, इलाम, माइ र देउमाइ नगरपालिकासँगै फाकफोकथुम गाउँपालिकामा यत्तिका क्षति भएको हो । जिल्लाका सन्दकपुर, माङसेवुङ, रोङ र चुलाचुली गाउँपालिकाको भने तथ्यांक संकलन जारी छ ।

क्षतिग्रस्त क्षेत्रमा पुग्ने अधिकांश सडक भत्किनुका साथै अप्ठेरो भूगोका कारण संकलन गर्ने काम ढिला मात्रै सुरु भएकाले एकसाथ तथ्यांक सार्वजनिक गर्न ढिलाइ भइरहेको पालिकालहरुले जनाएका छन् ।

कार्यालयका ६ वटा स्थानीय तहमा पहिरोका कारण २ सय ४३ वटा घर पूर्ण रुपमा भत्किए, पुरिएका छन् । यस्तै ६ सय ७३ वटामा आंशिक क्षति पुगेको छ । बाढी र पहिरोका कारण ७ सय १८ जना नागरिक प्रभावित भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

उनका अनुसार प्रभावितमध्ये ११ जनालाई सामुदायिक भवनमा राखिएको छ । यस्तै ३ सय ८९ जना आफन्त र छिमेकीको घरमा बसेका छन् भने बाँकी केही पाल टाँगेर आ–आफ्ना जमिन र केही आंशिक क्षति भएकै घरमा बसिरहेका छन् ।

पहिरोका कारण सबैभन्दा धेरै क्षति इलाम नगरपालिकामा भएको छ । यहाँ २ सय ६३ वटा घरमा क्षति पुगेको हो । यस्तै माइ नगरपालिकामा ७६, देउमाइमा १ सय ११, सुर्योदयमा १ सय ९४ र फाकफोकथुममा २० वटा घरमा क्षति पुगेको छ ।

पहिरोले पुर्दा इलाममा ३९ जनाले ज्यान गुमाएका थिए, १ जना बेपत्ता छन् भने १३ जना घाइते छन् । ज्यान गुमाउने ३९ मध्ये पुरुषको संख्या १८ र महिलाको संख्या २१ छ । पहिरोले पुर्दा जिल्लाको माइ जोगमाइ गाउँपालिका र देउमाइ नगरपालिकामा ८–८, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ७–७, फोकथुममा गाउँपालिकामा १, माङ्सेवुङमा ३ र सुर्योदय नगरपालिकामा ५ जना छन् ।

पहिरो पछि क्षति भएको मेची राजमार्गको राजदुवाली खण्डसहित तीन दर्जन बढी ग्रामीण सडक सञ्चालनमा आउन सकेका छैनन् । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully