सडकमा धाँजा फाटेपछि मेची राजमार्गको राजदुवाली खण्ड खुलाउन कठिनाइ

आइतबारदेखि यातायात खुलाउने गरी काम गरे पनि पुनः सडकमा धाँजा फाटेपछि पुनः जोखिम बढेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

आश्विन २६, २०८२

लक्ष्मी गौतम

Difficulty opening the Rajduwali section of the Mechi highway after the road was torn

पाँचथर — मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड पुनः भासिएको छ । आजसम्ममा सञ्चालनमा ल्याउने गरी शनिबार साँझसम्म काम गरिए पनि बिहानपख पुनः सडक भासिएकाले सो खण्डमा यातायातका साधन सञ्चालन गर्न कठिनाइ भएको सडक डिभिजन इलामले जनाएको छ ।

सो खण्डको अवरोध हटाएर आइतबारदेखि यातायात खुलाउने गरी काम गरे पनि पुनः सडकमा धाँजा फाटेपछि पुनः जोखिम बढेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार सडक डिभिजनले मेची राजमार्गको पाँचथर इलाम र माइखोला जोरकलशका दर्जनौं पहिरो पन्छाएर अवरोध खुलाए पनि नजिकबाट लेदोसहितको पानी निस्कने,सडकमा चिरा पर्ने र धाँजा फाट्ने आदी समस्याले राजदुवाली खण्डको काम सफल भएको छैन ।

मेची राजमार्गको यो खण्ड असोज १८ देखि पूर्ण रूपमा बन्द छ । पहिरो गएको एक सातापछि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार यस क्षेत्रको भ्रमण गरेका थिए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully