मेची राजमार्गको विकल्पमा अर्को सडक खुल्यो

राजदुवाली क्षेत्रको अवरोध हटाउन पटकपटक गरेको प्रयास असफल भइरहेका बखत विकल्पमा अर्को सडक खुलाइएको हो ।

आश्विन २६, २०८२

लक्ष्मी गौतम

Another road was opened as an alternative to the Mechi highway

पाँचथर — असोज १८ देखि अवरुद्व मेची राजमार्गको राजदुवाली खण्ड सञ्चालन हुन नसकेपछि आइतबारदेखि वैकल्पिक मार्गबाट आवागमन सुरु गराइएको छ ।

राजदुवाली क्षेत्रको अवरोध हटाउन पटकपटक गरेको प्रयास असफल भइरहेका बखत विकल्पमा अर्को सडक खुलाइएको हो ।

वैकल्पिक सडकबाट साना र हलुका सवारी साधन आइतबार साँझदेखि नै आउजाउ गर्न थालेको इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिए । दुर्घटनाको जोखिम घटाउन यो सडक राति १० देखि बिहान ६ बजेसम्म भने बन्द गरिने उनको भनाइ छ ।

वैकल्पिक सडक सञ्चालनमा आएसँगै इलामबाट झापा झर्न र झापाबाट इलाम चढ्न केही हदसम्म सजिलो भएको छ ।

यस्तै ताप्लेजुङ र पाँचथरबाट तराई आउजाउ गर्ने यात्रुलाई पनि यो सडकले राहत दिएको छ ।

वैकल्पिक सडक इलाम बजार नजिकैको तिल्केनी गोलाइदेखि बज्रदेवी–नामशालिङ–नयाँबजार हुँदै फिक्कलमा जोडिन्छ । वैकल्पिक मार्ग कच्ची, उकालो र ओरालो भएकाले ठूला सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम उच्च रहने तत्कालका लागि ठुला साधन आउजाउका लागि स्विकृति दिइएको छैन । राजदुवाली क्षेत्रमा गएको पहिरो नरोकिँदा मेची राजमार्ग असोज १८ देखि अवरुद्ध छ ।

राजमार्ग नखुल्दा दैनिक उपभोगका सामग्री, औषधि र इन्धन ढुवानीमा समस्या देखिएको छ भने लामो दूरीका यातायात सेवा पूर्णरूपमा ठप्प भएका छन् । 

मेची राजमार्गमा ठूला पहिरो खसेको, सडक भासिएको र पहिरोले धेरै ठाउँ बगाएका कारण तत्काल सडक खुलाउने सम्भावना कम रहेको सडक डिभिजन इलामले जनाएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully