बाढीपीडित किसानका लागि किस्ता तिर्ने समयसीमा बढाउन आग्रह

बाढीपीडित किसान, व्यापारी र मजदुरहरूलाई तत्काल ऋण तिर्ने अवस्था नभएकाले पुनर्विचारका लागि पालिकाले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

आश्विन २४, २०८२

अर्जुन सुवेदी

Request to increase the deadline for payment of installments for flood affected farmers

What you should know

काठमाडौँ — अविरल वर्षाका कारण आएको बाढीले स्थानीय किसानहरूले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको भन्दै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले बैङ्क तथा वित्तीय संस्थाहरूलाई कृषकको ऋणको किस्ता र ब्याज तिर्ने अवधि बढाउन आग्रह गरेको छ ।

गत असोज १८ र १९ गते आएको भीषण वर्षा र बाढीका कारण किसानहरूको धान, तरकारी, तथा फलफूल खेतीमा ठूलो क्षति पुगेको छ । यस्तो अवस्थामा किसान गम्भीर आर्थिक सङ्कटमा परेको उल्लेख गर्दै पालिकाले असोजको किस्ता तथा ब्याज तिर्ने समय सीमा पुनः निर्धारण गरी राहत प्रदान गर्न सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको हो ।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले बैङ्क तथा वित्तीय संस्थाहरूलाई पत्र पठाई बाढीपीडित किसान, व्यापारी र मजदुरहरूलाई तत्काल ऋण तिर्ने अवस्था नभएकाले पुनर्विचार गर्न आग्रह गरेका छन् । अध्यक्ष आजादले पत्रमा उल्लेख गरेका छन्, 'बाढीले किसानहरूको पुँजी नै नष्ट भएको छ । यस्तो अवस्थामा उनीहरूलाई बैङ्क किस्ता र ब्याज तिर्न बाध्य पार्नु अन्याय हुनेछ ।'

गाउँपालिकाले स्थानीय किसान तथा मजदुरहरूले पालिकामा आग्रह गरेपछि बैङ्क तथा वित्तीय संस्थाहरूलाई लचिलो नीति अपनाउन अनुरोध गरेको जनाएको छ । इनरुवा नगरपालिका, कोशी गाउँपालिका, हरि नगर गाउँपालिका लगायत क्षेत्रका बैङ्क तथा वित्तीय संस्थाहरूमा पत्र पठाई यस्तो आग्रह गरिएको अध्यक्ष अजादले जानकारी दिए । बाढी तथा डुबानले सुनसरीका किसानले करोडौँको क्षति बेहोर्नुपरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

अर्जुन

Link copied successfully