गाउँपालिकाको सक्रियतामा विभिन्न स्थानका पहिरो हटाएर मुख्य सडक खुलाइएको छ, जसले स्थानीय बासिन्दालाई आवागमनमा निकै सहज बनाएको छ ।
खोटाङ — साकेला गाउँपालिकामा अवरुद्ध साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक सञ्चालनमा आएको छ । उक्त गाउँपालिकाले बुधबारदेखि पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार, पहिरो गएर अवरुद्ध भएको सडकको पहिरो हटाएपछि बुधबार रातिदेखि यातायात सुचारु भएको हो । नागरिकलाई आवागमनमा समस्या भएपछि गाउँपालिकाले आकस्मिक पूर्वाधार सेवा अन्तर्गत साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे करिब ३२ किलोमिटर क्षेत्रमा झरेका पहिरो हटाएपछि सवारीसाधन सञ्चालनमा आएको राईले बताए ।
‘गाउँपालिकाको जेसीभी मेसिनले मुख्य सडकहरूको पहिरो हटाउने काम भइरहेको छ,’ राईले भने, ‘मुख्य सडकहरूको पहिरो हटाइसकेपछि भित्री सडकहरू पनि सञ्चालनमा ल्याइनेछ र स्तरोन्नतिको काम समेत सुरु गरिन्छ ।’
साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडकका डिगेम्पडाँडा, चुम्लुङ, कात्तिकेलगायतका स्थानहरूमा पहिरो गएको छ । विभिन्न स्थानमा नालीबाट बगेको पानीले ग्याबिन जाली बगाएको र सडकको ग्राभेल समेत बिगारेको थियो ।
त्यस्तै, मानेभञ्ज्याङ–पुङ, मानेभञ्ज्याङ–तावाभञ्ज्याङ, मानेभञ्ज्याङ–रतन्छा, र कात्तिके–सोस्तुङ–नैनेपाटी सडकहरूमा समेत पहिरोले क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ ।
