आयोजनाका सूचना अधिकारी जयराम अधिकारीका अनुसार धनकुटाको छरुवा खोलाबाट काम थालेका स्काभेटर बिहीबार नावा खोला आइपुगेका छन् ।
पाँचथर — पाँचदिन अघि आएको बाढीका कारण अवरुद्ध तमोर करिडोरको अवरोध हटाउन काम थालिएको छ । पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा आएको बाढीसँगै ठाउँ ठाउँमा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलाउन स्काभेटर परिचालन गरिएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी जयराम अधिकारीका अनुसार धनकुटाको छरुवा खोलाबाट काम थालेका स्काभेटर बिहीबार नावा खोला आइपुगेका छन् ।
त्यहाँ बाढीले थुपारेको ढुङ्गा गिटी बालुवाको व्यवस्थापन गरेपछि पाँचथर खण्डमा सरसफाइ सुरु गरिनेछ । त्यसपछि अवरुद्व सडक खुल्ने बताइएको छ । तमोर करिडोर पूर्वका पाँचथर धनकुटा र ताप्लेजुङलाई सुनसरी हुँदै तराइसँग छोड्ने महत्त्वपूर्ण सडक हो । जुन सडक अवरुद्ध हुँदा यात्रुले सास्ती व्यहोरिरहेका छन् ।
उता मेची राजमार्गको इलाम खण्ड अन्तर्गत राजदुवाली र माइखोला खण्डको अवरोध हटाउन सडक डिभिजन इलामले बिहानैदेखि काम थालेको छ । यो खण्डमा अधिक क्षति भएकाले कहिलेसम्म काम सकिन्छ भन्ने यकिन छैन । यद्यपि सबै उपकरण र मानव संशाधन प्रयोग गरेर काम अघि बढाइएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए ।
