कहिले बनिसक्छ कालीखोला र भालुखोलाको पुल ?

कालीखोलाको पुल २-३ महिनाभित्र र भालुखोलाको पुल १-२ महिनाभित्रै सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन्

आश्विन २१, २०८२

नवराज सुवेदी

When will the Kalikhola and Balukhola bridge be completed?

What you should know

झापा — अविरल वर्षा हुनेबित्तिकै पूर्व-पश्चिम राजमार्ग (एसियन हाइवे) को झापा खण्डमा मूलतः दुई ठाउँमा राजमार्ग अवरुद्ध हुन्छ । जिल्लाको शिवसताक्षीस्थित भालुखोला र मेचीनगरस्थित कालीखोलामा पुरानो पुल भत्काएर नयाँ पुल मर्मत भइरहेकाले दुई ठाउँमा डाइभर्सन बनाइएको छ ।

वर्षापछि बाढी आउँदा डाइभर्सन बगाउँछ र राजमार्ग अवरुद्ध हुन्छ । यसपटक पनि दसैंको माहोलमा गत शनिबार भएको अविरल वर्षापछि दुवै डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बन्यो । परिणामस्वरूप यात्रुले अनेकन सास्ती भोग्नुपर्‍यो ।

यात्रुवाहक सवारी साधन गाउँघरको बाटोबाट घण्टौंको यात्रा गरी गन्तव्यमा पुग्न बाध्य भए । कालीखोलाको डाइभर्सन बग्दा काँकडभिट्टाबाट दक्षिण या त सतिघट्टा हुँदै इँटाभट्टा निस्किएर यात्रा गर्नुपर्‍यो या त काँकडभिट्टाबाट उत्तर नकलबन्दा–पुण्य चौक घुमेर ।

त्यस्तै भालुखोलाको डाइभर्सन बगाउँदा पूर्वतर्फ माईधारबाट यात्रुवाहक सवारी साधन डाइभर्ट हुन्थे भने पश्चिमतर्फ दुधेबाट । यसरी यात्रुवाहक सवारी लामो दूरी घुमेर जाँदा दसैंमा यात्रा गरिरहेका यात्रु प्रत्यक्ष प्रभावित भए । त्यसो त यी दुवै खोलामा बनेको डाइभर्सन बाढीले बगाएको यो पहिलोपटक पनि होइन । पुरानो पुल भत्काएर नयाँ पुल बनाइरहेको र साइडबाट डाइभर्सन बनाइएकाले बाढी आउँदा डाइभर्सन बगाइहाल्थ्यो ।

यतिबेला सबैको एउटा जिज्ञाशा छ । यी दुई पुल कहिले बनिसक्छ र राजमार्ग अवरुद्ध हुने अवस्था आउँदैन ? जसबारे बुझ्दा काँकडभिट्टा-लौकही सडक योजना (एसियन हाइवे) का इन्जिनियर आश्रय महतले दुवै पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले कालीखोलाको पुल २-३ महिनाभित्र र भालुखोलाको पुल १-२ महिनाभित्रै सञ्चालनमा आउने बताए । उनका अनुसार भालुखोलामा पुल नै ठडिइसकेको छ ।

यहाँ माटो पुर्न र साइड रोड बनाउन मात्रै बाँकी छ भने कालीखोलामा पुलको स्ल्याब पुलको छेउमा बनाइएको छ । त्यसलाई पिलरमा लगेर राख्न बाँकी छ । जुन काम दुई महिनाभित्र सकिने उनको दाबी छ । ‘तिहारअघि राजमार्ग अवरुद्ध हुने समस्या हुँदैन । तिहारपछि विज्ञ मिस्त्रीको टोली पनि आइपुग्ने भएकाले चाँडो काम सक्छौं,’ उनले भने ।

काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डमा १८ वटा साना र तीन वटा ठूला गरी २० वटा पुल ठेक्का लागेको छ । निन्दा, बिरिङ र कनकाई पुललाई ठूला पुलमा राखिएको छ जसलाई छुट्टै ठेक्का लगाइएको छ । यसरी साना र ठूला सबै पुलको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी काम भइरहेको उनले जनाए । 

नवराज सुवेदी

Link copied successfully