इलामका पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

मंगलबार बिहान इलाम–१० का २६ र माङसेबुङका १३ परिवारलाई राहत सामग्री वितरण गरिएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले बताए।

आश्विन २१, २०८२

लक्ष्मी गौतम

Provincial government relief to the landslide victims of Ilam

पाँचथर — घटनाको तेस्रो दिन कोशी प्रदेश सरकारले इलामका पहिरोपीडितलाई राहत वितरण गरेको छ। इलाम नगरपालिका र माङसेबुङमा प्रदेश सरकारले सेनाको हेलिकप्टरमार्फत राहत पठाएको हो।

मंगलबार बिहान इलाम–१० का २६ र माङसेबुङका १३ परिवारलाई राहत सामग्री वितरण गरिएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले बताए।

उनका अनुसार वितरण गरिएका राहत सामग्रीमा प्रति परिवार म्याट्रेस, ब्लाङ्केट, सिराने १५०–१५० थान, २५० क्विन्टल चामल, दाल र आलु र ५०–५० किलो चामल छन्। यस्तै, खाने तेल, बेसार, नुन, मसला लगायतका सामग्री पनि उपलब्ध गराइएको उनले बताए।

हेलिकप्टरबाट इलाम ल्याइएको राहत सामाग्री दुई पालिकामा वितरण भइसकेको छ र इलामका अन्य स्थान र झापाका लागि केहीबेरमै राहत सामग्री पठाउने तयारी भइरहेको उनले बताए।

इलाम र पाँचथर सहित विभिन्न स्थानमा विपद् भइरहँदा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की काठमाडौँमा थिए। उनी फर्किए लगत्तै सरकारले राहत वितरण सुरु गरेको हो।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully