इलाका प्रहरी कार्यालय तेल्लोकका अनुसार पाँचथरको थर्पु हुँदै सिदिङवा गाउँपालिकाकै ढङढङे झरनाबाट आङ्खोपतर्फ जाँदै गरेको प्र१-०१-००१ ज ३४७० नम्बरको गाडी सडकबाट करिब दुई सय मिटर तल झरेको हो ।
ताप्लेजुङ — सिदिङवा गाउँपालिका-३ आङखोपमा मंगलबार साँझ बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तेल्लोकका अनुसार पाँचथरको थर्पु हुँदै सिदिङवा गाउँपालिकाकै ढङढङे झरनाबाट आङ्खोपतर्फ जाँदै गरेको प्र१-०१-००१ ज ३४७० नम्बरको गाडी सडकबाट करिब दुई सय मिटर तल झरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतका अनुसार सिदिङवा-३ आङखोप बस्ने ६० वर्षीय लोकबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको छ । आङखोपकै ६० वर्षीय लोकबहादुर चौहान र ४५ वर्षीय प्रकाश चौहान गम्भीर घाइते भएका छन् ।
यस्तै ३० वर्षीया सिर्जना चौहान, ४ वर्षीय प्रियान्स चौहान, गाडी चालक ४० वर्षीय प्रकाश सुवाङ, ३ वर्षीया प्रियन्सा चौहान घाइते भएका प्रहरीले जनाएको छ । सबै घाइतेको साब्लाखु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
गाडी साँझ ६:३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । साब्लाखु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रदिप विष्टको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयले घाइतेलाई उपचारका लागि साब्लाखु स्वास्थ्य चौकी पुर्याएका थिए ।