मंगलबार दिउँसादेखि संचालनमा आएको दुई घण्टामै पहिरोले सडक बन्द
What you should know
धनकुटा — तीन दिनदेखि अवरुद्ध रवी-राँके सडकमा पहिरो हटाएर यातायात संचालनमा आएलगत्तै फेरि अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो गएर यातायात साधन बन्द रहेको भेडेटार-रवी-राँके सडक मंगलबार दिउँसोदेखि संचालनमा आएको थियो ।
धनकुटादेखि इलाम र पाँचथरलाई जोड्ने उक्त सडक खण्डअन्तर्गत साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्की, पहिरे, लुम्फाजुङ, बालुवाखानी लगायतका स्थानमा पहिरो जाँदा अवरुद्ध भएको थियो । पहिरो पन्छाएर दिउँसो २ बजेदेखि यातायात संचालनमा आएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । तर, अपराह्न ४ बजे साँगुरीगढी गाउँपालिका-५ लुम्फजुङमा पहिरो गएपछि यातायातका साधन रोकिएको इलाका प्रहरी कार्यालयका इन्चार्ज रमेश प्रधानले जानकारी दिए । उक्त सडकमा संचालनमा आएका सवारी साधन पुनः बिच बाटैमा रोकिएका छन् । पहिरो पन्छाउने कार्य जारी रहेकोले बेलुकीसम्ममा यातायात संचालन हुन सक्ने प्रधानको भनाइ छ । दर्जनौं सवारी साधन र यात्रु बाटैमा अलपत्र परेका छन् ।
यस्तै, तमोर कोरिडोर भने अझै संचालनमा आउन सकेको छैन । उक्त सडकसमेत शनिबारदेखि अवरुद्ध बनेको छ । तमोर कोरिडोरअन्तर्गत चौबिसे गाउँपालिका-४ फलामेटारस्थित छरुवा खोलाको निर्माणाधीन पक्की पुलको संरचना बाढिले बगाएपछि यातायात ठप्प बनेको छ । त्यहाँ पिलर बाहेकका सबै संरचना बगाएपछि तमोर कोरिडोरमा सवारी साधन संचालन ठप्प बनेको हो । चौबिसे-४ फलामेटार नजिकै छरुवा खोलामा आएको लेदोसहितको बाढीले मेसिनरीसहितको क्रसर बगाएको छ । निर्माणाधीन तमोर कोरिडोर सडक र पक्की पुलका लागि गिट्टी, बालुवा उत्पादन गर्न रौता कन्स्ट्रक्सनले क्रसर संचालन गरेको थियो । यातायात संचालन हुन केही दिन लाग्ने आयोजना स्रोतले जनाएको छ ।
बाढी पहिरोले अवरुद्ध भएको कोशी राजमार्गको धरान–धनकुटा सडक तथा मध्यपहाडी लोकमार्ग भने दुई दिनअघिदेखि नै संचालनमा आइसकेको छ ।
