यस्तै, सदरमुकाम खाँदबारीमै रहेको नेपाली सेनाको इन्द्रदल गुल्मको केही भाग पनि पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाले जमिन चिप्लिएको र वरिपरि फाटो देखिन थालेको छ ।
What you should know
संखुवासभा — लगातार दुई दिनदेखि परिरहेको अविरल वर्षाले संखुवासभाका विभिन्न संरचनाहरु जोखिममा परेका छन् । पहिरोका कारण खाँदबारीस्थित जिल्ला कारागार, नेपाली सेनाको इन्द्रदल गुल्म, चैनपुर नगर अस्पताल र धेरै बस्तीहरू उच्च जोखिममा परेका छन् ।
शनिबार दिउँसोदेखि निरन्तर परिरहेको वर्षाले खाँदबारीस्थित जिल्ला कारागारको करिब ३० मिटर लामो बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । उनका अनुसार कारागारको तल्लो भागमा ठूलो पहिरो खसेपछि भवनसमेत जोखिममा परेको छ । ‘पहिरो रोकथामका लागि आइतबारदेखि मर्मत थालिएको भए पनि लगातारको वर्षाका कारण काम अघि बढाउन कठिनाइ भइरहेको छ,’ उनले भने ।
यस्तै, सदरमुकाम खाँदबारीमै रहेको नेपाली सेनाको इन्द्रदल गुल्मको केही भाग पनि पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाले जमिन चिप्लिएको र वरिपरि फाटो देखिन थालेको छ ।
त्यसैगरी, चैनपुर नगरपालिका–६ मा रहेको १५ शय्याको नगर अस्पतालको पछाडि भागमा पनि पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार अस्पताल पछाडीको जमिन बग्न थालेपछि भवन जोखिमपूर्ण बनेको छ ।
चैनपुर–सिद्धिपोखरीमा रहेको तेन्जिङ शेर्पाको घर पनि पहिरोको उच्च जोखिममा परेको छ । आइतबार दिउँसोको तीव्र वर्षापछि घर माटो र ढुंगासहित खस्न थालेपछि शेर्पा परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
सडक यातायात त झनै पूर्णरूपमा ठप्प भएको छ । सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिकातर्फ जाने उत्तर–दक्षिण सडक खण्ड मकालु गाउँपालिका–३ मा ठूलो पहिरो खसेपछि एक महिनादेखि अवरुद्ध छ । सो सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगको सम्पर्क समेत टुटेको छ ।
यसबाहेक उत्तर–दक्षिण कोशी सडकखण्डका विभिन्न स्थानमासमेत पहिरोका कारण सवारीसाधन चल्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लगातारको वर्षा र चीनको सीमाक्षेत्रमा पनि उच्च वर्षा भइरहेको सूचना प्राप्त भएपछि सुरक्षाका दृष्टिले जिल्ला बाहिर तथा भित्री ग्रामीण सडक यातायात सञ्चालनमा अस्थायी रूपमा रोक लगाइएको छ ।
स्थानीय प्रशासनले जनतालाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।
