झापाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका बस्ती विस्थापित भई स्थानीय विद्यालय र आफन्तकहाँ शरण लिएका छन् भने एक पुरुषको शव खोलामा फेला परेको छ।
झापा — शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले झापाका २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ५ हजार ४८१ घरका २५ हजार २३१ जना व्यक्ति बाढीका कारण विस्थापित भएका हुन् ।
शिवसताक्षी, अर्जुनधारा, भद्रपुर नगरपालिका, गौरिगन्ज र झापा गाउँपालिकाका बस्तीहरूबाट ती परिवार विस्थापित भएका हुन् । उनीहरू नजिकैका विद्यालय र आफन्तकहाँ आश्रय लिएका छन् ।
यसैगरी आइतबार बिहान ११:५० बजे कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाईमाई खोलाको बीच भागको डिलमा अन्दाजी ६५ वर्षका नामथर नखुलेका एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनी घोप्टो परेको अवस्थामा फेला परेको जनाएको छ ।
सडक अवरुद्ध
काँकडभिट्टास्थित कालीखोलामा निर्माणाधीन एसियन हाइवे भत्किएपछि सडक अवरुद्ध भएको थियो । सडकछेउका बगानबाट साना सवारीसाधनहरू काँकडभिट्टा आवतजावत गर्न थालेका छन् ।
त्यस्तै, जिल्लाकै शिवसताक्षीमा पनि एसियन हाइवे सडकको डाइभर्सन बगेर सडक अझै सुचारु हुन सकेको छैन ।
