जिल्लाको शिवसताक्षीस्थित भालुखोलामा बाढीले भत्काएको डाइभर्सन मर्मत गरेर दुईतर्फी सवारी सञ्चालनमा ल्याइए पनि मेचीनगरस्थित कालीखोलाको डाइभर्सनमा अझै मर्मतकार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा — गत शनिबार रातिको अविरल वर्षापछि डाइभर्सन भत्किँदा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) अझै पूर्ण रूपमा सुचारु हुन सकेको छैन ।
जिल्लाको शिवसताक्षीस्थित भालुखोलामा बाढीले भत्काएको डाइभर्सन मर्मत गरेर दुईतर्फी सवारी सञ्चालनमा ल्याइए पनि मेचीनगरस्थित कालीखोलाको डाइभर्सनमा अझै मर्मतकार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
भालुखोलाको डाइभर्सन बगेसँगै सवारीसाधनहरू गाउँघरका भित्री सडक प्रयोग गरेर आउजाउ गर्दै आएका थिए । सडक सुचारु भएपछि सो झन्झट अन्त्य भएको छ । तर, कालीखोलामा पानीको सतह बढेकाले सहज रूपमा काम गर्न नसकिएको जिल्ला ट्राफिक प्रमुख गणेश पौडेलले जानकारी दिए । उनका अनुसार कालीखोलामा पनि छिट्टै डाइभर्सन बनाएर यातायात सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।
झापामा यति बेला सिमसिम पानी परिरहेको छ । राजमार्गहरूमा यात्रुवाहक सवारीसाधनको उपस्थिति कम देखिए पनि गुडेका सवारीहरूमा यात्रुको चाप बढेको देखिएको छ ।