पूर्व-पश्चिम राजमार्ग (एसियन हाइवे) सोमबार साँझदेखि पूर्ण:रूपमा सञ्चालनमा आएको हो ।
झापा — अविरल वर्षापछिको बाढीले पूर्वी सीमावर्ती सहर काँकडभिट्टा नजिकै कालीखोलाको डाइभर्सन बगाउँदा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग (एसियन हाइवे) सोमबार साँझबाट पूर्ण:रूपमा सञ्चालनमा आएको छ । डाइभर्सनलाई मर्मत गरेर सोमबार साँझ ६ बजेबाट यातायात सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
कालीखोलेमा बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम गर्ने सवारी साधन कि नकलबन्दा-पुण्य चोक हुँदै इँटाभट्टा निस्किएर या त इँटाभट्टाबाट सतिघट्टा हुँदै गन्तव्यतर्फ पुग्नुपर्ने अवस्था थियो । अब भने यसरी ग्रामीण भेगको बाटो हुँदै लामो यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको हो ।
यसअघि शिवसताक्षी नगरपालिकास्थित भालुखोलामा पनि बाढीले डाइभर्सन बगाएर अवरुद्ध राजमार्ग मर्मतपछि सोमबार दिउँसोदेखि सञ्चालनमा ल्याइएको थियो । अविरल वर्षापछि बाढीले डाइभर्सन बगाउँदा जिल्लाका दुई स्थान शिवसताक्षी र मेचीनगरमा राजमार्ग अवरुद्ध थियो । अब भने दुवै स्थानमा डाइभर्सन बनाइएको र राजमार्ग सुरु गरिएको जिल्ला ट्राफिक प्रहरीका प्रहरी प्रमुख गणेश पौडेलले जनाए ।
