संखुवासभाको भोटखोलाकी गर्भवती महिलाको हवाई उद्धार

उद्धारका क्रममा प्राथमिक उपचारपछि ती गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर लगिएको हो ।

आश्विन २०, २०८२

दीपेन्द्र शाक्य

Aerial rescue of a pregnant woman from Bhotkhola in Sankhuwasabha

संखुवासभा — भोटखोला गाउँपालिका–३ हङगुङकी ४२ वर्षीया गर्भवती छिटेक भोटेको सोमबार अत्यधिक रक्तस्राव भएपछि सेनाको हेलिकोप्टरमा उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको छ ।

दुर्गम भोटखोला क्षेत्रको भौगोलिक कठिनाइका कारण समयमै स्वास्थ्य सेवा पाउन मुस्किल हुने भएकाले स्थानीय प्रशासन, स्वास्थ्यकर्मी र गाउँपालिकाको समन्वयमा उद्धार प्रक्रिया अघि बढाइएको हो । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थान अझै यातायातको पहुँच नपुग्दा समस्या छ ।

उद्धारका क्रममा प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर लगिएको जिल्ला प्रहरीका निमित्त प्रमुख रामकुमार लामिछानेले बताए ।

भोटखोला गाउँपालिका जस्ता दुर्गम क्षेत्रमा यस्ता उद्धार कार्यले गर्भवती तथा सुत्केरी महिलाको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । 

दीपेन्द्र शाक्य

Link copied successfully