आइतबार बिहान ८ बजे गरिएको मापनअनुसार पानीको बहाव ३ लाख ३५ हजार ३ सय ६० क्यूसेक पुगेको हो ।
राजविराज — शनिबारदेखि भइरहेको भीषण वर्षाले सप्तकोशी नदीमा पानीको बहाव ३ लाख क्यूसेक नाघेको छ । शनिबार बेलुका ६ बजेदेखि नदीमा निरन्तर बहाव वृद्धि भइरहेको छ । आइतबार बिहान ८ बजे गरिएको मापनअनुसार पानीको बहाव ३ लाख ३५ हजार ३ सय ६० क्यूसेक पुगेको हो ।
‘समान्यभन्दा अहिले पानीको बहाव तीन गुणाले बढेको छ,’ प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले भने, ‘तर, तत्कालै पुलबाट आवतजावत गर्न रोक लगाउने अवस्था छैन ।’
नदीमा पानीको बहावले शनिबार राति नै खतराको सतह पारेपछि खतराको संकेतस्वरूप ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको थियो ।
नदीमा एक लाख ५० हजार क्यूसेक बहाव नाघेपछि रातो झण्डा र बत्ती बाल्ने गरिन्छ । अहिले ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खुला गरिएको छ भने बहाव अझै उच्च रुपमा वृद्धि भइरहेको प्रजिअ पोखरेलले जानकारी दिएका छन् ।
