मौसम खुलेपछि गन्तव्यतर्फ लागे कञ्चनजंघा क्षेत्रमा पुगेका पर्यटक

कञ्चनजंघा जानेले पाँचथरको गणेश चोकबाट खेवाङ, याम्फुदिन हुँदै पूर्वी र ताप्लेजुङ सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक, लेलेप, घुन्सा हुँदै उत्तरी बेसक्याम्पको भ्रमण गर्ने गरेका छन् ।

आश्विन १९, २०८२

आनन्द गौतम

Tourists who reached the Kanchenjunga area left for their destination after the weather cleared

ताप्लेजुङ — खराब मौसमका कारण रोकिएका पर्यटक गन्तव्यतर्फ लागेका छन् । कञ्चनजंघाको आधार शिविर खम्बाछेन, घुन्सा, लोनाक पुगेका पर्यटकहरू आइतबार बिहान मौसम खुलेर घाम लाग्न थालेपछि यात्रामा निस्किएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् ।

‘आजबाट मौसममा केही सुधार आएको छ । पर्यटकहरू कोही कञ्चनजंघा आधार शिविरतर्फ अनि कोही जानु हिमालतर्फ लागेका छन् भने बाँकी खम्बाछेनमा  हिउँसँग रमाइरहेका छन्,’ खम्बाछेनस्थित कञ्चनजंघा ह्वाइट हाउसका सञ्चालक नुपू छिरिङ शेर्पाले भने ।

कञ्चनजंघा क्षेत्रमा अहिले ७५ जनाको हाराहारीमा विदेशी र उनीहरूका सहयोगीसमेत गरी दुई सय बढीले भ्रमण गरिरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्‍का घुन्साका पर्यटन सहायक टाँसी शेर्पाले बताए । कञ्चनजंघा जानेले पाँचथरको गणेश चोकबाट खेवाङ, याम्फुदिन हुँदै पूर्वी र ताप्लेजुङ सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक, लेलेप, घुन्सा हुँदै उत्तरी बेसक्याम्पको भ्रमण गर्ने गरेका छन् ।

वर्षाका कारण अस्ति र हिजो धेरैजसो पर्यटक होटलमा बसेका थिए । उनीहरुलाई एक/दुई दिन यात्रा रोकिदिन स्थानीय व्यवसायीले आग्रह गरेका थिए । सदरमुकाम फुङलिङमा भारतीय समेतका पर्यटक आठजना यहीं रोकिएका थिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully