मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै दुई दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको छ।
पाँचथर — अविरल वर्षाका कारण पहिरो जाँदा मेची राजमार्गसहित विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै दुई दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको छ।
यस राजमार्ग अन्तर्गत पाँचथर खण्डमा पर्ने फाल्गुनन्द गाउँपालिका-३ रमाइलो चोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालीखर्कमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै, इलाम खण्डको माइखोला, राजदुवाली र बिव्ल्याँटे खण्डमा पनि दर्जन बढी पहिरो गएका कारण सडक पूर्णरुपमा अवरुद्ध छ ।
माइखोलामा आएको बाढीले इलामस्थित माइखोलाको बेलिब्रिजमा क्षति पुगेको छ। मेची राजमार्गको विकल्पका रुपमा उपभोग गरिँदै आएको कञ्चनजंघा केचना सडकको पक्की पुलमा पनि बाढीले क्षति पुर्याएको छ । यस्तै, इलाम र पाँचथरका भित्री सडकहरुमा दर्जनौं ठाँउ पहिरो गएको छ।
इलामका भित्री सडकहरुमा लगाएका केही पक्की पुल र झोलुङ्गे पुलमा समेत क्षति पुगेकाले ती सडक समेत यात्राका लागि जोखिमपुर्ण बनेको इलाम प्रहरीले जनाएको छ । यता तमोर करिडोर पनि बाढी र पहिरोका कारण अवरुद्ध भएको छ । झरीसँगै खोलामा पानीको बहाव बढ्दा यस करिडोरको नावा खोलामा यातायात अवरुद्ध छ भने सोही सडकको उक्त सडकका समेत विभिन्न स्थानमा पहिरो झरेको छ ।
यस्तै, मध्य पहाडी राजमार्ग अन्तर्गत पाँचथरको याङवरक-३ मा पर्ने रिजाल भिरमा पनि पहिरो गएर सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रुपेश तामाङले जानकारी दिए ।
