अविरल वर्षाका कारण झापाका करिब ५ सय घरधुरी विस्थापित, बिरिङ पुल भत्कियो

लगातारको वर्षासँगै खोला नाला बढेपछि स्थानीय बस्तीहरूमा पानी पसेको छ ।

आश्विन १९, २०८२

पर्वत पोर्तेल

About 500 households in Jhapa were displaced due to incessant rains, Biring bridge collapsed

झापा — अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा करिब ५ सय घरधुरी विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लगातारको वर्षासँगै खोला नाला बढेपछि स्थानीय बस्तीहरूमा पानी पसेको छ ।

झापा गाउँपालिका–२ सुगावथानमा माइ खोलाको बाढी पस्दा ५६ घरधुरीका १ सय ४० परिवार विस्थापित भएका छन् । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उनीहरूलाई कुवाडी माविमा आश्रय दिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै शिवसताक्षी नगरपालिका–४, ५, ६ र ७ मा बढी पस्दा करिब साढे ३ सय परिवार विस्थापित भएका छन् । झापा भद्रपुर–५ मा २५ घर डुबानमा परेका छन् भने उनीहरूलाई छिमेकीका घरमा अस्थायी रूपमा राखिएको छ । शिवसताक्षी–७ मा मात्र १७ घरधुरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

About 500 households in Jhapa were displaced due to incessant rains, Biring bridge collapsed

यस्तै मेचीनगर–७ सतिघट्टा र १५ ज्यामिरगढी क्षेत्रमा मेची खोलाको बढीका कारण २ सय घरधुरी प्रभावित भएका छन् । यसैबीच, अर्जुनधारास्थित विरिङ खोलाको पुल बाढीले भत्काएको प्रहरीले जनाएको छ, जसका कारण आवतजावतमा अवरुद्ध भएको छ ।

स्थानीय प्रशासनले राहत तथा उद्धार कार्य तीव्र बनाइएको बताएको छ । अहिले पनि केही स्थानमा पानी नघटेकाले जोखिम यथावत् रहेको जनाइएको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully