खोला किनारका सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा सारियो

कटारी नगरपालिका-५ बलाहस्थित तावा र छाउरी खोला किनारमा बसोबास गर्ने सुकुम्बासी परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको हो ।

आश्विन १९, २०८२

राकेश नेपाली

The squatter families on the banks of the river were moved to a safer place

उदयपुर — उदयपुरको कटारी नगरपालिकाले खोला क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

भारी वर्षाका कारण बाढीको जोखिममा रहेका कटारी नगरपालिका-५ बलाहस्थित तावा र छाउरी खोला किनारमा बसोबास गर्ने सुकुम्बासी परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको हो ।

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई प्रहरीको सहयोगमा उद्धार गरी उदयपुर उद्योग वाणिज्य संघको हलमा राखिएको छ ।

'बसपार्क क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी बस्तीका नागरिक बसपार्क विस्तारसँगै तावा खोला किनारमा बस्दै आएका थिए, अविरल वर्षाका कारण बलाहस्थित सुकुम्बासी बस्तीमा जोखिम बढेपछि शनिबार राती नगरपालिकाको गाडीमा उद्धार गरी सुरक्षित स्थानमा ल्याएका छौं," नगर प्रमुख श्रेष्ठले भने ।

जोखिम कम नभएसम्म उनीहरूलाई वाणिज्य संघकै हलमा खाना र बाससहितको सुविधा दिइने श्रेष्ठले बताए । तावा, छाउरी, मरुवा लगायतका खोला किनारामा करिब डेढ सयभन्दा बढी परिवार अस्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully