संखुवासभा प्रशासनले पनि भन्यो- 'विपद्‌बाट जोगिनू, २० गतेसम्म अत्यावश्यक काम नपरी ननिस्कनू'

अत्यावश्यक नपरी घर बाहिर ननिस्कन, पहिरो तथा डुबानको सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानको जानकारी राख्न र आवश्यक परेमा सर्ने तयारी गर्न आग्रह गरिएको छ ।

आश्विन १७, २०८२

दीपेन्द्र शाक्य

Sankhuwasabha administration also said - 'Avoid disaster, don't leave without urgent work till 20th'

संखुवसभा — जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लावासीलाई भारी वर्षा तथा सम्भावित प्राकृतिक विपद्‌प्रति सचेत रहन अपिल गरेको छ।

जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै प्रशासनले आजदेखि २० गतेसम्म संखुवासभासहित देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। त्यसैले जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो।

सार्वजनिक सूचनामार्फत प्रशासनले अत्यावश्यक नपरी घर बाहिर ननिस्कन, पहिरो तथा डुबानको सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानको जानकारी राख्न र आवश्यक परेमा सर्ने तयारी गर्न आग्रह गरेको छ।

त्यस्तै, सडक अबरुद्ध भएमा तत्काल खटाउन मिल्ने गरी डोजर, लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न र साझेदार संस्थाहरूलाई विपद्‌ व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहन पनि अनुरोध गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाद्वारा बिहीबार जारी सूचनामा विपद्‌ सम्बन्धी सूचना वा आपत्कालीन अवस्था आएमा जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

दीपेन्द्र

Link copied successfully