खराब मौसमको सूचना पछि हिमाल आरोहणमा गएका विदेशी नागरिक होटेलमा फर्किए

खराब मौसमको सूचना पाएपछि हिमाल आरोहणका लागि ताप्लेजुङका हिमाली भेग पुगेका विदेशी नागरिक सुरक्षित स्थानमा फर्किएका छन् ।

आश्विन १७, २०८२

आनन्द गौतम

Foreign nationals who had gone for mountain climbing returned to the hotel after bad weather was reported

ताप्लेजुङ — खराब मौसमको सूचना पाएपछि हिमाल आरोहणका लागि पुगेका विदेशी नागरिकहरू सुरक्षित स्थानमा फर्किएका छन् ।

७ हजार ७ सय १० मिटर उचाइको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका दुईजना विदेशी मौसम सुधार नभएसम्मका लागि भन्दै आफ्नो होटेलमा फर्किएको घुन्साका पर्यटन तथा होटल व्यवसायी छिरिङ शेर्पाले जानकारी दिए ।

उनीहरू खम्बाछेनदेखि एक क्याम्प तल रहेको घुन्साको जोङगा होटेल फर्किएका हुन् । यसवर्ष फ्रान्सका नागरिक बेन्जामिन र निकोलस हिमाल आरोहणका लागि आएका छन् । उनीहरूले गतवर्ष पनि यही हिमाल आरोहणको प्रयास गरेका थिए । आरोहण सफल हुन नसकेपछि फर्किएका उनीहरू यसवर्ष पनि पुन: प्रयासमा आएका हुन् ।

मौसमविद् तथा विपद् व्यवस्थापन समितिको सूचना अनुसार उनीहरू हिमाल नजिकमा केही दिनको तयारी गरेर होटेलमा फर्किएको छिरिङले बताए । मौसममा सुधार आएपछि प्रयासलाई गति दिने सन्देश आफूलाई दिएको छिरिङ बताउँछन् । कञ्चनजङ्घा आधार शिविर क्षेत्रको मौसम भने अहिले सामान्य रहेको स्थानीयले बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइले विज्ञप्ति प्रकाशित गरी १७ देखि २० गतेसम्म सावधानी अपनाउन आग्रह गरेका छन् ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully