झापामा बस पल्टिँदा २ जनाको मृत्यु, १३ जना घाइते

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहान करिब ९:३० बजेको समयमा विराटनगरबाट काँकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको बस (प्र १–०१–००१ ख ४४५९) अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

आश्विन १६, २०८२

कान्तिपुर संवाददाता

2 dead, 13 injured when bus overturns in Jhapa

झापा — झापाको बिर्तामोड नगरपालिका–६ गिरि बन्धु टी–स्टेट अगाडि पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहान करिब ९:३० बजेको समयमा विराटनगरबाट काँकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको बस (प्र १–०१–००१ ख ४४५९) अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सुनसरी, इटहरी–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली–२ का ४२ वर्षीय राजकुमार चौधरी रहेका छन्। चौधरी सो बसका कन्ट्याक्टर भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा इटहरीका गुलशनराज शर्मा, उनकी श्रीमती अंकिता शर्मा र छोरी मनसुई शर्मा, बिनु शर्मा, मोरङका सोमकुमार भुजेल (सहचालक), पाँचथरकी गंगा लिम्बु, झापाका लोजिहाङ लावती, सुहाना लिम्बु र मेङ्सो लिम्बु, मोरङकी अनुषा भट्टराई, मन्जु खतिवडा, झापाकी राधिका खतिवडा र ताप्लेजुङका राकेश ललिम्बु रहेका छन्।

घाइतेहरुलाई उद्धार गरी बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीले फरार चालकको खोजी कार्य जारी रहेको जानकारी दिएको छ।

कान्तिपुर

Link copied successfully