र्यालीमा सहभागीहरूले 'जेन–जी आन्दोलन अमर रहोस्, सहिदको सपना साकार पारौँ' जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।
पाँचथर — जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मृतिमा मंगलबार पाँचथरको फिदिममा बृहत् र्यालीसँगै श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
फिदिम बजारको शिवालय मन्दिरबाट सुरु भएको र्याली फिदिम बजारस्थित बुद्ध मार्ग, भानु मार्ग, अस्पताल मोड, नमुना टोल, मेन रोड र लखनमार्ग हुँदै गणतन्त्र चोकमा पुगेर शोक तथा श्रद्धाञ्जली सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरूले 'जेन–जी आन्दोलन अमर रहोस्, सहिदको सपना साकार पारौँ' जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।
गणतन्त्र चोकमा आयोजित शोक तथा श्रद्धाञ्जली सभामा नेपालको नक्सा बनाएर मैनबत्ती प्रज्वलन गरिएको थियो ।
शोक तथा श्रद्धाञ्जली सभामा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, उपमेयर राधाकृष्ण न्यौपानेसहित पाँचथरका जेन–जी सहिद कमल भण्डारीका पिता गणेशप्रसाद भण्डारी र काका शान्तिकुमार भण्डारीलगायतको उपस्थिति थियो ।
कार्यक्रमका आयोजकले सहिद परिवारलाई नगद ३० हजार रुपैयाँसहित नेपालको नक्सा र राष्ट्रिय झन्डाले सम्मान गरे ।
जेन–जी आन्दोलनमा ज्यान गुमाएका नागरिकको स्मृतिमा नेपाल सरकारले भदौ १ गते शोक मनाएको थियो । त्यसको १३ दिनपछि आज जेन–जीले फिदिममा शोक तथा श्रद्धाञ्जली सभा र र्याली आयोजना गरेको आयोजकमध्येकी एक मञ्जना थुलुङ राईले जानकारी दिइन्।
परिवर्तन नेपाल (स्वतन्त्र जेन–जी)को ब्यानरमा आयोजना गरिएको कार्यक्रममा सयौँको उपस्थिति थियो ।
