भदौ १५ गते गएको भीषण पहिरोका कारण करिब २ सय मिटर सडक पूर्णरूपमा बगेकाे छ । याे खण्डमा एक महिनायता आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ ।
संखुवासभा — उत्तर–दक्षिण (कोशी) सडकखण्डअन्तर्गत खाँदबारी–किमाथांका सडक निर्माणस्थलमा पहिराेले ठूलो क्षति पुगेको छ ।
मकालु गाउँपालिका–३ अल्फटे क्षेत्रमा भदौ १५ गते गएको भीषण पहिरोका कारण करिब २ सय मिटर सडक पूर्णरूपमा बगेकाे छ। याे खण्डमा एकमहिना यता आवतजावत पूर्णरूपमा अवरुद्ध भएको हो ।
सडक क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध हुनुका साथै आसपासका बस्तीमा रहेका स्थानीयलाई समेत ठूलो समस्या परेको छ। पहिरोका कारण सडक मात्र नभई नजिकैको निजी जग्गा, खेतबारी, बालीनाली तथा बोटविरुवामा समेत क्षति पुगेको छ।
यस वर्षको सक्रिय मनसुनले संखुवासभाको विभिन्न स्थानमा ठूलो क्षति पुर्याइरहेको छ। अरुण नदीको तीव्र बहाव, निरन्तरको वर्षा र पहाडका मुहानबाट पानी रसाइरहनुका कारण पहिरो गएको क्षेत्र अझै स्थिर हुन सकेको छैन। सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार भूस्खलन स्थलगत क्षेत्रमा माटो दलदली भएको र भारी मेसिनहरू समेत फस्ने खतरा रहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन असम्भव भएको छ ।
'नदीको बहाव घट्न सकेको छैन,' उनले भने, 'सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन, भाेटखाेला र मकालु गाउँपालिका, जनप्रतिनिधि र सरोकारवालाबीच निरन्तर समन्वय भइरहेको छ।' उनका अनुसार अनुकूल मौसम बनेर नदीको बहाव कम भएलगत्तै सडक मर्मत कार्य सुरु गरिनेछ।
'सडक सञ्चालन नभएसम्म यात्रुहरूले असुविधा भोग्नुपर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने स्थिति छ,' भाेटखाेला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भाेटेले भने, 'खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी समेत रोकिएपछि स्थानीयले कठिनाइ झेल्नुपरेको छ।'
सडक अवरोधले परेको असुविधाप्रति योजना कार्यालयले साेमबार विज्ञप्ति जारी गरेर सार्वजनिक रूपमा क्षमा मागेको छ। 'अनुकूल मौसम बनेपछि सडक यथाशीघ्र सञ्चालनमा ल्याइनेछ,' गुरुङले विज्ञप्तिमार्फत भनेका छन् ।
उत्तर–दक्षिण (कोशी) सडक पूर्वी नेपाललाई चीनसँग जोड्ने महत्वपूर्ण रणनीतिक मार्ग हो। 'अहिलेको मुख्य चुनौती भनेको प्राकृतिक विपत्तिसँगै क्षतिपूर्तिको विवाद समाधान गरेर सडक सञ्चालनमा ल्याउनु हो,' उनले भने, 'अनुकूल मौसम बनेलगत्तै सडक खुलाउने तयारीमा छाैं ।'
