मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सुनसरीका दुई पीडित परिवारले १५ लाख रकम पाएका हुन् ।
सुनसरी — जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सुनसरीका दुई जना मृतकका परिवारले सरकारी राहत पाएका छन् ।
इटहरी उपमहानगरपालिका कार्यालय अगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारलाई सरकारी राहत रकम प्रदान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । मृतक दुवै युवकका परिवारको बैंक खातामा संघीय तथा प्रदेश सरकारबाट आएको राहत र क्षतिपूर्ति रकम पठाइएको हो ।
मिश्रका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मृतक परिवारका लागि राहतस्वरुप १० लाख र क्षतिपूर्तिबापत ५ लाख गरी १५ लाख रकम गृह मन्त्रालयबाट प्राप्त भएको थियो । कोशी प्रदेश सरकारबाट १ लाख रुपैयाँ किरिया खर्चबापत जिल्ला प्रशासन कार्यालयमा आइपुगेको थियो । दुवै निकायबाट प्राप्त रकम सम्बन्धित पीडित परिवारलाई प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
सुनसरीको रामधुनी नगरपालिकाको तित्रिबना स्थायी घर भई इटहरीमा बस्दै आएका २३ वर्षीय श्रेष्ठ र इटहरी १४ पूर्वी गैसार घर भएका सरदार परिवारले सरकारी राहत रकम समयमै नपाएपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले प्रदान गरेको सहयोग रकमले काजकिरिया गरेका थिए ।
यसैबीच जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भक्तपुरको थिमि प्रहरीले गोली चलाउँदा मृत्यु भएका धरान उपमहानगरपालिका–५ आँपटार चौरका साजन मेवाहाङका परिवारलाई भने राहत रकम प्रदान गर्न केही दिन समय लाग्ने मिश्रले जानकारी दिए । साजनकी श्रीमतीसहित बाबुआमा र दाइको समेत दुई वर्षअघि मृत्यु भएको थियो । दुई जना नाबालक छोरा मात्र रहेकाले इलाममा रहेका उनीहरुको आफन्त भेला गराई राहत रकम प्रदान गरिने मिश्रको भनाइ छ ।
साजनले भक्तपुरमा डेरा गरी दुई नाबालक छोरा हुर्काइरहेका थिए । उनको निधनपछि ती बालकहरूको बिचल्ली भएको छ । साजनको किरात मेवाहाङ योखोम्माले आर्थिक संकलन गरी दाहसंस्कारको काम सम्पन्न गरिदिएको थियो ।
