पानी पर्नासाथ डाइभर्सन बग्ने र छोपिने गरेकाले चाडबाड लक्षित खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न मात्रै नभएर बिरामीलाई अस्पताल ल्याउन सकस भइरहेको छ ।
पाँचथर — पाँचथरमा २९ वटा पुल, १५ वटा विद्यालय र १० वटा हाइड्रोपावर आयोजनाका संरचनान बगाउनुका साथै ११ जनाको ज्यान जाने गरी विनाशकारी बाढी आएको एक वर्ष पुगेको छ ।
२०८१ असोज ९ देखि १२ र त्यसअघि असार २ गते आएको बाढीले जिल्लाका स्वास्थ संस्था र विभिन्न किसिमका भौतिक संरचनामा समेत क्षति पुगेको थियो । बाढीले बगाएका यत्तिका संरचनामध्ये २ ठाउँका मात्रै पुल निर्माण भएका छन्, बाँकी संरचना निर्माणको अत्तोपत्तो छैन ।
दसैंको मुखमा पनि पुलपुलेसा निर्माण नहुँदा यात्रुले सास्ती बेहोर्नुपरेको छ । यो वर्ष पनि जिल्लाको फालेलुङ याङवरक र फिदिमका विभिन्न स्थानमा बाढी र पहिरोसहितका विपदजन्य घट्नाले नागरिकलाई सास्ती दिइरहेको छ । एकातिर मौसमजन्य विपदले नियमित दिने दुख त अर्कातिर बिग्रे भत्केका पुलपुलेसा र बाटोघाटो पुनःनिर्माण र मर्मत नहुने आदी समस्याले जिल्लाका नागरिक आजित भएका छन् ।
पछिल्लो तीन वर्षर्को अवधिमा पाँचथरमा मात्रै बाढी पहिरोले ४ अर्ब ७४ करोड ४० लाख ६८ हजार ५ सय रुपैंया बराबरको क्षति भएको तथ्यांक जिल्ला प्रशासन कार्यालय पाँचथरले संकलन गरेको थियो ।
स्थानीय तह, प्रदेश र जिल्ला मातहतका यत्तिका संरचनामा क्षति पुगेको यस जिल्लामा पर्ने विभिन्न सडक मार्गका मुख्य खोला नालामा पुलपुलेसा कहिले बन्ने अझै निश्चित भइसकेको छैन ।
सवारी र ढुवानीका राम्रै चाप रहने फिदिम फालौट, फिदिम, याङनाम, सिदिन मेमेङ र मध्य पहाडी राजमार्गले भेट्ने खोलामा बगेका पुल पुनःनिर्माण नहुँदा डाइभर्सन बनाएर अस्थायी रुपमा यातायात सञ्चालन गरिँदै आएको छ । यस्ता डाइभर्सन बाढी आउनसाथ पुरिने र बग्ने गरेकाले यात्रुले गन्तव्यमा पुग्दासम्म धेरै तनाव झेल्नुपरेको फालेलुङ-८ का गोपाल अधिकारी बताउँछन् ।
बाढीले बगाएका मेची राजमार्ग र सिदिन–मच्छेवुङ खण्डमा २ वटा मात्रै पुल निर्माण भएको पाँचथरका प्रमूख जिल्ला अधिकारी अरुण पोखरेल बताँउछन् । बाँकी २७ स्थानको समस्या ज्युँका त्युँ छ ।
तमोर करिडोरअन्तर्गत फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेवा खोला, फिदिमदेखि नांगिन, याङनाम, सिदिन प्राङबुङ हुँदै नेपाल भारत सिमावर्ती फालौट जोड्ने फेमे र फालेलुङ ६ र ५ सिमाना छुट्याएर बग्ने मुवा खोलामा पुल बनेको छैन । मध्यपहाडी राजमार्गको उद्गम स्थल चिवाभञ्ज्याङ, च्याङथापु हुँदै थर्पु जोड्ने दोभाने, ओयाम र फलाम खोला, फिदिमदेखि सिदिन हुँदै फालेलुङ गाउापालिका केन्द्र थकेपुङ जाने हेवा खोला घुमाउनेटारमा बाढीले बगाएका पुल पुननिर्माण नहुँदा डाइभर्सनको भरमा सवारी र ढुवानीका साधन आउजाउ गरिरहेका छन् ।
'पानी पर्नासाथ डाइभर्सन बग्ने र छोपिने गरेकाले चाडबाड लक्षित खाध्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न मात्रै नभएर बिरामी र प्रसव पीडाले छट्पटाइरहेका गर्भवतीलाई अस्पताल ल्याउन सकस भइरहेको छ,’ फालेलुङ-७ का शिक्षक भीम रिजालले भने ।
मध्यपहाडी राजमार्गको दोभानेसँगै हेवा खोलाको घुमाउनेटार र तमोर करिडोरअन्तर्गत माझीटार नजिकको हेवा खोलाका पुल २०८० असार २ गतेको बाढीले बगाएको थियो । फिदिम फालौट सडकखण्डको फेमे र मुवाखोलाका पुल गत असोज १२ गते तथा फलाम र ओयाम खोला पुल २०८१ असार २ गते बगेका हुन् ।
पक्की पुल बनाउने काम अघि नबढाउँदा समस्या थोपरिएको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले बताउँछन् । ‘बजेट सुनिश्चित गरेर काम सुरु गर्न पटकपटक आग्रह गर्दा पनि प्रदेश र संघ सरकारबाट सुनुवाइ भएन,’ उनले भने । जेनजी आन्दोलनपश्चात् मुलुकमा देखिएको संकट र राजनीतिक अस्थिरताले क्षतिग्रस्त संरचना पुनः निर्माणको कामले गति लिने संकेत देखिँदैन ।
फिदिम फालौट मार्गअन्तर्गत पाँचथरको फेमेखोलामा लगाइएको फड्केबाट तर्दै सर्वसाधारण । यहाँको पक्की पुल २०८१ असोज १२ गतेको बाढीले बगाएको थियो । तस्बिर : लक्ष्मी/कान्तिपुर
