झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ

भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये आइतबारसम्म ९ सय ९१ जना कैदीबन्दी पक्राउ परेको र केही आफै फर्किएको झुम्का कारागारका जेलर राम निरौलाले बताए ।

आश्विन १२, २०८२

एलिना राई

50 prisoners who escaped from Jhumka Jail were arrested from Dharan

धरान — भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदीहरुमध्ये हालसम्म ५० जना कैदीलाई धरानबाट पक्राउ गरिएको छ ।

झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये धरानबाट मात्र हालसम्म ५० जना कैदी पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राई बताए । पक्राउ पर्नेमा धरान-१५ का ३२ वर्षीय राजु थापा मगर रहेका छन् । उनी लागुऔषध मुद्दाका कैदी हुन् । 

प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले फरार मगरलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यस्तै, धनकुटाका छथरजोरपाटी गाउँपालिका-४ का ३४ वर्षीय नितेश भन्ने योगेन्द्र बिक पक्राउ परेका छन् । उनी जर्बजस्ती करणी मुद्दाका कैदी हुन् । प्रहरीका अनुसार अस्थायी प्रहरी चौकी विजयपुरबाट प्रहरी हवलदार गणेश रायको कमाण्डमा खटिएको टोलीले फरार बिकलाई धरान-१४ विजयपुरबाट नियन्त्रणमा लिइएको जनाएको छ ।

लागुऔषध मुद्दाका अर्का फरार कैदी धरान-१४ गणेशचोकका २४ वर्षीय दिपक परियार पनि पक्राउ परेका छन् । उनलाई पनि अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरी हवलदार गणेश रायको कमाण्डमा खटिएको टोलीले परियारको घरबाट नै नियन्त्रणमा लिएको डीएसपी राईले बताए । पक्राउ परेका सबै कैदीबन्दीलाई कारागार पुर्‍याएको उनले बताए ।

भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये आइतबारसम्म ९ सय ९१ जना कैदीबन्दी पक्राउ परेको र केही आफै फर्किएको झुम्का कारागारका जेलर राम निरौलाले बताए । उनका अनुसार  कारागारको ब्लब ‘ए’ र ब्लक ‘ब’ गरी १ हजार ७ सय ५४ जना कैदी रहेका थिए । त्यसमध्ये सबैभन्दा बढी लागूऔषध मुद्दाका कैदीबन्दी रहेको जेलर निरौलाले बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार विज्ञप्ति जारी गर्दै झुम्का कारागारबाट फरार भएका कैदीबन्दीलाई असोज २० गतेसम्म कारागारमा सम्पर्क गर्न आग्रह गरेको छ ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully