दसैंको नौरथा सुरु भएपछि शनिबार पाथीभरामा सबैभन्दा धेरै तीर्थयात्री  

दसैंको पहिलो दिन घटस्थापनामा पाँच सय ५९ जना पुगेका थिए । मंगलबार एक हजार एक सय ४४, बुधबार चार सय ६५, बिहीबार सात सय आठ, शुक्रबार एक हजार दुई सय ६७ जनाले दर्शन गरेको क्षेत्र विकास समितिका सञ्चार अधिकृत सन्तोष पुर्कोटीले जानकारी दिए ।

आश्विन ११, २०८२

आनन्द गौतम

Most pilgrims in Pathibhara on Saturday after Dasain Nooratha begins

ताप्लेजुङ — दसैंको नौ रथ सुरु भएपछि शनिबार पाथीभरामा सबैभन्दा बढी तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार दुई हजार दुई सय २६ जनाले दर्शन गरेका हुन् । 

दसैंको पहिलो दिन घटस्थापनामा पाँच सय ५९ जना पुगेका थिए । मंगलबार एक हजार एक सय ४४, बुधबार चार सय ६५, बिहीबार सात सय आठ, शुक्रबार एक हजार दुई सय ६७ जनाले दर्शन गरेको क्षेत्र विकास समितिका सञ्चार अधिकृत सन्तोष पुर्कोटीले जानकारी दिए । 

पाथीभरामा असोज, कार्त्तिक, मंसिर र फागुन, चैत वैशाखमा सबैभन्दा बढी तीर्थयात्री पुग्ने गरेका छन् । माथिल्लो फेदी होटल व्यवसायीका अनुसार दसैंपछिबाट तीर्थयात्रीको संख्या बढ्ने अपेक्षा गरिएको छ । तीन हजार सात सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा काफ्‌लेपाटीदेखि पाँच किलोमिटर हिँडेर जानु पर्छ । जाँदा र फर्कँदा १० किलोमिटर पैदल हिँड्नु पर्छ । 

सुकेटार विमानस्थलदेखि काफ्‌लेपाटीसम्म १२ किमि कच्ची सडक छ । सदरमुकाम फुङलिङ हुँदै सुकेटारसम्म भनेँ पक्की सडक छ । पाथीभरामा तराईका जिल्लाबाट अधिक तीर्थयात्री आउने गरेका छन् । आएर फर्कन कम्तीमा दुई/तीनदिन लाग्ने भएकाले दसैंको सप्तमी अर्थात् फूलपातीदेखि एकादशीको दिनसम्म भने तीर्थयात्रीको संख्या कम हुने पाथीभराका पुजारी डिल्ली आचार्य बताउँछन्‌ ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully