शुक्रबार काठमाडौंबाट १४ जना यात्रु आएका थिए भने ताप्लेजुङबाट ९ जना यात्रु काठमाडौं पुगे ।
ताप्लेजुङ — सुकेटार विमानस्थलमा दुई महिनापछि हवाई उडान भएको छ । यहाँ साउन ५ गतेपछि हवाई अवतरण हुन सकेको थिएन । नेपाल वायु सेवा निगमले सातामा एकदिन हरेक शुक्रबारको नियमित उडान राखेको छ ।
‘हामीले साताको एक उडान नियममित राखेका छौं,’ नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले भने, ‘यहाँ (सुकेटार) को मौषम खरावीका कारण कतिपय उडान काठमाडौंबाटै हुन सकेन, कतिपय उडान बाटोबाटै फर्काउनु पर्यो, आज भने सुकेटारको मौसम खुलेकाले जहाज अवतरण भएको छ ।’
शुक्रबार काठमाडौंबाट १४ जना यात्रु आएका थिए भने ताप्लेजुङबाट ९ जना यात्रु काठमाडौं पुगे । निगमसँग अहिले एउटा मात्रै जहाज चालु अवस्थामा रहेको र अर्को जहाज मर्मतको क्रममा रहेकाले तत्काल थप उडान हुने सम्भावना कम रहेको कार्की बताउँछन् । विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलिप राजवंशीका अनुसार बर्खायामको तुलनामा हिउँदमा धेरै उडान अवतरण भएको तथ्यांक छ ।
काठमाडौं–ताप्लेजुङ उडानका लागि ९ हजार दुई ४५ रुपैयाँ भाडादर रहेको निगमले जनाएको छ । अनुकूल मौसममा ५५ मिनेट यात्रा समय लाग्ने गरेको छ ।
