कोशी प्रदेशसभा बैठक दसैंपछि मात्र

मोरङको कटहरीस्थित कृषि बजार या वीरेन्द्र सभा गृहमध्ये एक स्थललाई अस्थायी हलका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

आश्विन ८, २०८२

पर्वत पोर्तेल

Koshi State Assembly meeting only after Dasain

विराटनगर — २४ भदौमा जेन–जी प्रदर्शनकारीको आक्रमण र आगजनीमा ध्वस्त भएका प्रदेशसभा भवनको विकल्प जुट्न नसक्दा प्रदेश सभा बैठकहरू प्रभावित भएका छन् । कोशी प्रदेशसभा बैठक दसैंपछि मात्रै बस्ने प्रमुख राजनीतिक दलहरूको संयुक्त बैठकले निष्कर्ष निकालेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मंगलबार बसेको सर्वदलीय बैठकले सभाहलको अभाव र चाडपर्वका कारण दसैंपछि मात्र बैठक बोलाउने सहमति गरेको हो ।

 बैठकमा सहभागी एकीकृत समाजवादीकी प्रमुख सचेतक विद्या चाम्लिङ राईले सभा हललगायतको अभावका कारण तत्काल बैठक गर्न नसक्ने निर्णय भएको जनाइन् । उनले भनिन्,‘पहिले बैठक बस्दै आएको हल आगजनीबाट ध्वस्त भएकाले नयाँ स्थानको खोजी गर्ने समेत निर्णय भएको छ ।’ मोरङको कटहरीस्थित कृषि बजार या वीरेन्द्र सभा गृहमध्ये एक स्थललाई अस्थायी हलका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ । बैठकपछि दलका प्रतिनिधिमण्डल बैठक हलको सम्भावित स्थल अवलोकनमा गएका थिए ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले दसैंअघि बैठक बोलाउनु सान्दर्भिक नहुने कुरामा सबै दल एकमत रहेको बताए । उनले भने, ‘वैकल्पिक सभा हलको व्यवस्थापन भएको छैन । त्यसैले दसैंपछि मात्र अन्तिम निर्णय गरिने छ ।’ 

बैठकले तत्काल वैकल्पिक सभाहलको व्यवस्था गर्न र आवश्यक बजेट सुनिश्चित गर्न प्रदेश सरकारलाई सुझाव दिने निर्णय समेत गरेको छ । संयुक्त बैठकमा सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना राई, कांग्रेस संसदीय दलका नेता उद्धव थापा, एमाले प्रमुख सचेतक विदुरकुमार लिङ्थेप, माओवादी प्रमुख सचेतक गीता तिम्सिना, एकीकृत समाजवादी प्रमुख सचेतक विद्या चाम्लिङलगायत उपस्थित थिए ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully