सरकारी कार्यालयलाई निजी क्षेत्रको साथ

सेवा प्रवाह अवरुद्ध भइरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रशासनिक कार्य सहज बनाउन १० थान कम्प्युटर सहयोग गरेको छ ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

Government office with private sector

विराटनगर — गत भदौ २४ को जेन–जी आन्दोलनमा ध्वस्त भएका सरकारी कार्यालयहरू धमाधम पुनःस्थापित हुँदै छन् । आगजनीका कारण भवन जलेर नष्ट भए, सामग्री लुटिए । तर, निजी क्षेत्रको सहकार्यमा ती कार्यालयहरू फेरि उठ्ने प्रयासमा छन् ।

मोरङको जिल्ला प्रशासन कार्यालय र झापाको मेची भन्सार कार्यालय काँकडभिट्टा निजी क्षेत्रको हातेमालोबाट पुनः सञ्चालनपछि सेवा सुरु गरेका छन् । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटले मोरङ जिल्ला प्रशासन कार्यालय पूर्णरूपमा ध्वस्त बनाएको थियो ।

सेवा प्रवाह अवरुद्ध भइरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रशासनिक कार्य सहज बनाउन १० थान कम्प्युटर सहयोग गरेको छ ।

महासंघका अध्यक्ष राजेन्द्र राउतले संकटको घडीमा निजी क्षेत्र सधैं सहयोग गर्न तयार रहेको बताउँदै भने,‘सेवाग्राहीको सहजताका लागि कम्प्युटर सहयोग गरेका हौं ।’ महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले जिल्ला प्रमुख इन्द्रदेव यादवलाई कम्प्युटरहरू औपचारिक हस्तान्तरण गरे ।

त्यसैगरी, आगलागीबाट क्षतिग्रस्त भवन पुनः सञ्चालन गर्न एशियन पेन्ट्सको सहयोगमा ३ सय लिटर रंग उपलब्ध गराइएको छ । रंगरोगनको सम्पूर्ण खर्च महासंघले नै व्यहोर्ने बताइएको छ ।

उता झापामा आन्दोलनका कारण पूर्ण रूपमा ध्वस्त भएको मेची भन्सार कार्यालयलाई समेत निजी क्षेत्रबाट सहयोग मिलेको छ । मेची उद्योग वाणिज्य संघले भन्सार कार्यालयलाई ६ थान कम्प्युटर, ६ थान टेबल र ६ थान पंखा उपलब्ध गराएको भन्सार प्रमुख हरिहर पौडेलले जानकारी दिए । 

‘तत्कालको संकट टार्न सहयोग लिएका हौं’, पौडेलले भने, ‘हामीले नयाँ खरिद गरेपछि ती सामग्रीहरू फिर्ता गरिदिन्छौं ।’ भन्सार कार्यालयबाट २५ थान कम्प्युटर, १७ थान एसी, कुर्सी, टेबल, र शौचालयका कमोडसमेत लुटिएका थिए । गोदाममा विभिन्न समयमा बरामद गरी लिलामीका लागि राखिएका खाद्यान्न, लत्ताकपडा, माटरपार्टसहरु, महंगो मूल्यका आइफोन तथा मोबाइलहरु तथा मदिरा लगायत लुटिएको थियो । जसमा आधा कन्टेनर त मदिरा नै थियो । 

कान्तिपुर

Link copied successfully