फरार कैदी पक्राउसँगै सुरक्षामा थप सतर्कता आवश्यक रहेको प्रहरीको भनाइ छ।
संखुवासभा — जेन-जी आन्दोलनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन जना कैदीलाई प्रहरीले संखुवासभाबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सोमबार चैनपुर नगरपालिका–१० निवासी ४१ वर्षीय नारायण राईलाई आफ्नै घरबाट पक्राउ गरिएको हो। चोरी मुद्दामा नख्खु कारागारमा सजाय भोगिरहेका राई आन्दोलनको क्रममा फरार भएका थिए।
त्यसैगरी, झुम्का कारागारबाट भागेका दुई जना कैदीमध्ये चैनपुर नगरपालिका–९ निवासी ३१ वर्षीय सुभाष तामाङ र चिचिला गाउँपालिका–२ निवासी ५७ वर्षीय गोम्बु शेर्पालाई पनि प्रहरीले पक्राउ गरेको छ। दुवैजना जबर्जस्ती करणी उद्योग मुद्दामा सजाय काटिरहेका थिए।
पक्राउ परेका तीनै कैदीलाई बुधबारसम्म पुनः झुम्का कारागारमा पठाउने तयारी भइरहेको जिल्ला कारागार खाँदबारीका प्रमुख राजन घिमिरेले जानकारी दिए । हाल जिल्ला कारागार खाँदबारीमा १३१ पुरुष, ८ महिला कैदीबन्दी र २ आश्रित बालबालिका रहेका छन ।
फरार कैदी पक्राउसँगै सुरक्षामा थप सतर्कता आवश्यक रहेको प्रहरीको भनाइ छ। प्रहरीले यस घटनापछि फरार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कारागार र सीमाक्षेत्रमा सुरक्षा थप कडा बनाइएको जनाएको छ।
