भाउजूमाथि एसिड आक्रमण

सामान्य विवादमा २५ वर्षीय श्रवण साह (छोटु) ले २२ वर्षीया भाउजू रागिनी देवी साहमाथि एसिड आक्रमण गरेका थिए।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

Acid attack on sister-in-law

विराटनगर — मोरङको विराटनगर महानगरपालिका–९, धोबियारीमा सामान्य घरायसी विवादमा देवरले भाउजूमाथि एसिड आक्रमण गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेनदेनको सामान्य विवादमा २५ वर्षीय श्रवण साह (छोटु) ले २२ वर्षीया भाउजू रागिनी देवी साहमाथि एसिड आक्रमण गरेका थिए। गम्भीर घाइते उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उनको अनुहारमा एसिड प्रहार गरिएको थियो।

घटनापछि श्रवण फरार छन्। आक्रमणकारीविरुद्ध जाहेरी दिन परिवारले आनाकानी गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी कोपिला चुँडालले भनिन्, 'परिवार अहिलेसम्म जाहेरी दिन आएकै छैनन्।' फरार भएकाको खोजी तीव्र पारिएको उनले बताइन्।

चिकित्सकका अनुसार रागिनीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। पारिवारिक स्रोतले जनाएको अनुसार, श्रवणले भाउजुसँग तीन हजार रुपैयाँ सापटी मागेका थिए। तर रागिनीले दुई हजार मात्रै दिएको भन्दै श्रवणले एसिड आक्रमण गरेका थिए।

रागिनीका श्रीमान् सन्तोष साहका अनुसार घटनाको केही घण्टा अघि नै श्रवणले उनलाई ज्यान मार्ने धम्की दिएका थिए।

२०७५ सालमा नेपाल सरकारले एसिडको खुलेआम बिक्री–वितरण कडाइ गर्ने र पीडितलाई तत्काल उपचार खर्च दिने व्यवस्था गरेको थियो।

अधिवक्ता शोभा बजगाईँका अनुसार एसिड आक्रमणलाई कडाइका साथ नियन्त्रण गर्ने कानुन छ, तर सजिलै पाइने र निगरानी नहुने अवस्था अझै कायम छ। उनले भनिन्, 'समुदायले पनि यस्तो घटनालाई सामान्य ठानेर पीडितलाई मात्र दोष दिने प्रवृत्ति देखाउँछ, जुन गलत हो।'

कान्तिपुर

Link copied successfully