झापामा चौकी स्तरका २३ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो भने ९ वटा प्रहरी कार्यालय पूर्ण रुपमा नष्ट भए ।
What you should know
झापा — देशभरको अवस्था सामान्य बनिसक्दा पनि झापामा भने निषधाज्ञा आदेश आज बिहानसम्म किन जारी गरियो ? झापाको शान्ति सुव्यवस्था प्रशासनको नियन्त्रणमा आइनसकेको हो ? आम नागरिकमा यो जिज्ञासा कायमै छ ।
जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राखी जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा आदेश झापामा आज (बिहीबार) बिहानसम्म कायम थियो । सर्वसाधारणको जिउधन तथा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि प्रशासनले रातको समयमा दैनिकजसो नै निषेधाज्ञा आदेश जारी गरिरहेको छ । बुधबार राति पनि ८ बजेदेखि प्रशासनले निषेधित क्षेत्र तोकेर निषेधाज्ञा जारी गर्यो । जुन आदेश बिहीबार बिहान ४ बजे सकिएको छ ।
यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई विर्तामोड, दमक लगायतका क्षेत्रमा चोरीका घटना बढिरहेको जनगुनासो आइरहेकाले निषेधाज्ञा जारी गरिएको बताउँछन् । उनका अनुसार जिल्लाभर सुरक्षा गस्ती बढाइएको भए पनि सबै प्रहरी युनिटमा प्रहरी पुगिसकेका छैनन् ।
‘सबैतिर प्रहरी नपुगेको फाइदा उठाउादै विभिन्न स्थानमा चोरीका घटना बढे । जसका कारण असुरक्षा बढेको जनगुनासो आयो । नागरिकले नै २–४ दिन रातको समयमा निषेधाज्ञा जारी गर्न सुझाव दिए,’ उनी भन्छन्, ‘यी सबै विषयलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।’
आजबाट भने निषेधाज्ञा आदेश नआउने उनको भनाइ छ । ‘अहिले जिल्लाभरको अवस्था ठिक भइरहेको छ । आज जिल्ला सुरक्षा समितिको बैठक पनि बसेको छैन । अब निषेधाज्ञा नलाग्ला,’ उनले भने ।
झापाका प्रहरी प्रहरी प्रमुख राजन लिम्बूले सुरक्षाकर्मीको संयुक्त गस्ती बढाइएको र जिल्लाका सबै स्थानमा प्रहरी पुगिसकेको बताए । ‘सम्भावित घटना नघटोस् भन्नेमा हामी सचेत छौं । जिल्लाको अवस्था सामान्य बनिरहेको छ,’ उनले भने ।
झापामा चौकी स्तरका २३ वटा प्रहरी कार्यालयमा आन्दोलनका क्रममा क्षति पुगेको थियो भने ९ वटा प्रहरी कार्यालय पूर्ण रुपमा नष्ट भएको थियो ।
टिनको बेरा लगाइएका प्रहरी युनिट त कुनै बाँकी नरहेको जिल्ला प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जनाए । जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि यसअघि झापा प्रशासनले जिल्लाभर कर्फ्यु आदेश जारी गरेको थियो । आन्दोलनका क्रममा प्रहरीले ठूलो क्षति बेहोर्नुपर्यो भने सिमानामा अवस्थित मेची भन्सार कार्यालय, भद्रपुर भन्सार कार्यालय पूर्ण रुपमा जलाइयो ।
अवस्था सामान्य बनेसँगै यी दुवै भन्सार कार्यालयले सेवा दिन थालेका छन् भने शान्ति सुरक्षा समेत नियन्त्रणमा आएको प्रशासनले जनाएको छ ।
