नक्कली भारतीय कागजातसहित नेपाल छिर्न लागेकी इन्डोनेसियाली महिला पक्राउ

मुम्बईमा १० वर्षदेखि बस्दै आएकी एक इन्डोनेसियाली महिला नक्कली भारतीय कागजातसहित नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाको पानीटंकी नाकाबाट पक्राउ परेकी छिन् ।

आश्विन २, २०८२

पर्वत पोर्तेल

An Indonesian woman who was about to enter Nepal with fake Indian documents was arrested

What you should know

विराटनगर — नेपाल–भारत सीमा हुँदै विदेशी नागरिकको अवैध प्रवेश बढ्दै गएको संकेत दिने अर्को घटना सार्वजनिक भएको छ । भारतको मुम्बईमा १० वर्षदेखि बस्दै आएकी एक इन्डोनेसियाली महिला नक्कली भारतीय कागजातसहित नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाको पानीटंकी नाकाबाट पक्राउ परेकी छिन् ।

भारतीय अर्धसैनिक बल एसएसबीले बिहीबार सीमामा जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई रोकेर कागजात माग्दा भारतीय आधार र प्यान कार्ड दुबै नक्कली रहेको पत्ता लागेको हो । पक्राउ परेकी ५१ वर्षीया महिलाको वास्तविक नाम निकार्डेक सिसियानी हो । उनी इन्डोनेसियाको बालीकी स्थानीय बासिन्दा हुन् । तर, भारतीय आधार कार्डमा उनले आफूलाई निनियोमन मुर्नी, ४९ वर्ष भनेर उल्लेख गरेकी थिइन् । 

भारतीय दलालहरूको सहयोगमा उनले नक्कली कागजात बनाएको दाबी गरेकी छन् ।  अनुसन्धानका क्रममा उनले भारतीय कागजात बोकेर आफू टर्की, नेपाललगायतका मुलुक पटक-पटक गएको जनाएकी छन् । भारतीय नागरिकको पहिचान बनाएर  वर्षौं मुम्बईमा बस्दै आएकी उनले नेपालमा निरन्तर आउजाउ पनि गरिरहेकी थिइन् । उनी बारम्बार नेपाल किन आउजाउ गरिरहन्थिन् त्यस विषयमा भने खुल्न सकेको छैन । 

पछिल्ला दुई महिनामा मात्र यही पानीटंकी नाकाबाट अवैध प्रवेशको प्रयासमा सात जना बंगलादेशी पक्राउ भइसकेका छन् । सबैलाई कारागार चलान गरिसकिएको भारतको खोरीबारी प्रहरी कार्यालयले जनाएको छ । इन्डोनेसियाली महिलालाई पनि आवश्यक अनुसन्धानका लागि सिलिगुडी अदालतमा पेु गरिएको छ ।

स्थानीय सुरक्षा निकायका अनुसार सस्तो यातायात, भीडभाड र निगरानीको अभावका कारण पूर्वी नाका विदेशी नागरिकका घुसपैठका लागि ‘सजिलो मार्ग’ बन्दै गएको छ । खासगरी आँखा उपचारको बहानामा विदेशीहरू अवैध रूपमा नेपाल छिर्ने गरेको पाइएको छ । सीमामा बढ्दो घुसपैठले नेपाल–भारत दुवै देशका लागि सुरक्षा चुनौती थपिएको भारतका एक सुरक्षा अधिकारीले जनाएका छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully