साकेला गाउँपालिकामा पहिरोले अवरुद्ध सडक खुलाइयो

साकेला गाउँपालिका– ५ मात्तिमको चुम्लुङ क्षेत्रमा सडक माथिबाट झरेको पहिरो पन्छाइएपछि सडक खुलाइएको हो ।

आश्विन १, २०८२

डम्बरसिं राई

A road blocked by a landslide was opened in Sakela Rural Municipality

खोटाङ — साकेला गाउँपालिकामा वर्षाका कारण पहिरोले अवरुद्ध सडक खुलाइएको छ । दिक्तेल–साप्सुखोला–मानेभन्ज्याङ–पाँचधारे सडकमा अवरुद्ध पहिरो हटाइएपछि यातायात सुचारु गरिएको हो ।

गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार साकेला गाउँपालिका– ५ मात्तिमको चुम्लुङ क्षेत्रमा सडक माथिबाट झरेको पहिरो पन्छाइएपछि सडक खुलेको हो ।

गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा जनप्रतिनिधिहरू, कर्मचारी तथा गाउँपालिकाको डोजर र ट्याक्टर प्रयोग गरेर पहिरो पन्छाएपछि असोज १ गते बिहानबाट यातायात सुरु गरिएको अध्यक्ष राईको भनाइ छ ।

‘गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएका सडक समस्यालाई समाधान गर्न आकस्मिक पूर्वाधार सेवालाई सञ्चालन गर्दै आएको छ’ राईले भने–‘वर्षातका कारण सडक बगाएको, हिलाम्मे भएर सवारी साधन फसेको, पहिरोका कारण आवतजावतमा समस्या परेको, खाल्डाखुल्डी भएर जोखिम भएको ठाउँहरूमा गाउँपालिकाले नियमित रूपमा सडक मर्मत गर्दै आएको छ ।’

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully