उनी १३ र ७ वर्षका दुई छोराहरुसँग भक्तपुरमा बस्दै आएका थिए । दुई साना छोराको आमा र बुवा नै साजन थिए । उनी मजदुरी गरेर दुई छोरालाई पढाउँदै जीवीकोपार्जन गर्दै आएका थिए ।
What you should know
धरान — जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका साजन मेवाहाङ राईको सम्मानका साथ धरानमा अन्त्येष्टि गरिएको छ ।
धरान वडा नं ५ स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा जातीय संस्कार अनुसार उनको मंगलबार साँझ अन्त्येष्टि गरिएको हो ।
उनको शव मंगलबार शव वाहनमा धरान ल्याइएको थियो । सम्मानको लागि इटहरीबाट आएको नेपाली सेनाको टोलीले सलामी अपर्ण गरेको थियो । भानुचोकमा श्रद्धाञ्जली कार्यक्रममा धरानका मेयर हर्कर साम्पाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
उनको भानुचोकमा श्रद्धाञ्जली कार्यक्रम सकेरे शवलाई जंगलमा लगेर राई जातिमा मुन्धुम संस्कार अनुसार अन्त्येष्टि गरिएको हो । धरान उपमहानगरपालिका वडा नं. ५ आपँटार चौरी घर भए पनि उनी लामो समयदेखि काठमाडौं बस्दै आएका थिए ।
दुई वर्ष अगाडि मात्र उनको श्रीमतीको निधन भएको थियो । उनी १३ र ७ वर्षका दुई छोराहरुसँग भक्तपुरमा बस्दै आएका थिए । दुई साना छोराको आमा र बुवा नै साजन थिए । उनी मजदुरी गरेर दुई छोरालाई पढाउँदै जीवीकोपार्जन गर्दै आएका थिए ।
साजनका दाजु भाउजु धरानमा बस्ने भएकोले उनको शव धरानमा ल्याएर दाह संस्कार गरिएको परिवार स्रोतले बताएको छ । जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भक्तपुरको ठिमीमा भिडन्त हुँदा छातीमा गोली लागेर साजनको ज्यान गएको थियो ।
उनको मृत्युबारे परिवारजन तथा आफन्तले २ दिनपछि मात्र थाहा पाएका थिए । डेरामा छोराहरुमात्र भएको र २ दिनसम्म पनि नआएपछि खोजी गर्दा केएमसी अस्पतालमा शव फेला परेको मृतककी भान्जी मेनुका राईले बताए ।
