प्रमुख जिल्ला अधिकारीको आदेशमा विराटनगरका विभिन्न क्षेत्रमा असामाजिक गतिविधि रोक्न कर्फ्यू लागू गरिएको छ। नागरिकलाई अनावश्यक हिँडडुल नगर्न अपिल गरिएको छ।
विराटनगर — विराटनगरमा जारी जेनजी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन मोरङ जिल्ला प्रशासन कार्यालयले मंगलबार ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले जारी गरेको आदेशमा सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न कर्फ्यू आवश्यक भएको उल्लेख गरिएको छ।
यसअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले विराटनगर महानगरपालिकाभित्रका विभिन्न स्थानमा असामाजिक तथा हिंसात्मक गतिविधि हुन सक्ने आशंका गर्दै कर्फ्यू लगाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयले आमनागरिकलाई कर्फ्यू अवधिभित्र अनावश्यक हिँडडुल नगर्न र सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्न अपिल गरेको छ।
कर्फ्यू लागू हुने क्षेत्रहरूमा पूर्व नेपाल राष्ट्र बैंकदेखि पश्चिम कोशी अस्पताल चोकसम्म र उत्तर विराटनगर जेसिज हलदेखि दक्षिण गौरव अस्पतालसम्म । कोशी राजमार्ग उत्तर र दक्षिणतर्फका सम्पूर्ण भाग,
विराटनगर महानगरपालिकाको शान्तिनगर, बिर्टोल चोक, बिर्टोल मन्दिर, शान्तिनगर चोक आसपासका क्षेत्रहरू, प्रदेश प्रमुख कार्यालय र प्रदेश सभा भवन वरिपरिको क्षेत्र
र प्रदेश प्रमुख निवासको २०० मिटर क्षेत्रभित्र, इन्टिग्रेटेड चेकपोष्टको २०० मिटर वरिपरि पनि कर्फ्यू जारी गरिएको छ ।
