ताप्लेजुङमा ८४ प्रतिशत मात्रै रोपाइँ, ६ प्रतिशत खेत पूरै बाँझो

भदौ दोस्रो सातासम्म पनि पर्याप्त पानी नभएपछि ब्याडको बिउ काटेर किसानले गाईबस्तुलाई दिएका छन् ।

भाद्र २१, २०८२

आनन्द गौतम

In Taplejung, only 84 percent was planted, 6 percent of the fields were completely barren

ताप्लेजुङ — पर्याप्त पानी नपरेपछि ताप्लेजुङमा ८४.६ प्रतिशतमा मात्रै रोपाइँ भएको छ । गतवर्ष ९८.५ प्रतिशतमा रोपाइँ भएको थियो ।

धानको बिउ तयार पारेर बसेका किसानले समय निकै घर्किंदासम्म पनि बाली लगाउने तयारी गरेका थिए । तर भदौ दोस्रो सातासम्म पनि पानी नभएपछि ब्याडको बिउ काटेर गाईबस्तुलाई दिएका छन् । 

कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार जिल्लामा ५ हजार ६ सय ६६ हेक्टरमा धानखेती हुने गरेको छ । यस वर्ष ४ हजार ७ सय ९७ हेक्टरमा मात्रै रोपाइँ भयो । धान रोपाइँ नभएको मध्ये पनि ६ प्रतिशत खेत पूरै बाँझो छ । १० प्रतिशतमा कोदो, मकै मास, मस्याम लगायतका बाली लाग्ने कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । 

खेती नलागेका किसान सरकारबाट बिउसम्मको सहयोग पाए हुन्थ्यो भन्ने अपेक्षामा छन् । फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले नगरपालिकाभित्रको बाँझो जमिनको तथ्यांक संकलनको काम भइरहेको र संकलनपछि कस्तो सहयोग गर्ने भन्ने निष्कर्षमा पुग्ने बताए । ‘अहिले हामीले वडावडाबाट तथ्यांक संकलनको काम गरिरहेका छौं,’ न्यौपानेले भने, ‘कहाँ कस्तो सहयोग आवश्यक पर्छ भन्ने विषयमा त्यसपछि छलफल गर्छौं ।’

कृषि ज्ञान केन्द्रले भने माथिल्लो निकायमा बाँझो जमिनको अवस्था र किसानको अपेक्षाका विषयमा लेखेर पठाएको जनाएको छ ।

फुङलिङ नगरपालिका-३ का युवराज बरालले साउनमा रोप्नुपर्ने धान भदौसम्म पनि पानी नपरेपछि खेत बाँझै छोडेको बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully