शुक्रबार र शनिबार सम्पन्न शिविरमा ५० जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया भएको हो।
संखुवासभा — तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारीले विराटनगर आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा ५० जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरेको छ।
शुक्रबार र शनिबार सम्पन्न शिविरमा ५० जनाको सफलतापूर्वक मोतियाबिन्दु शल्यक्रिया गरिएको छ भने करिब ३ सय ५० जनाको आँखा सम्बन्धी सामान्य स्वास्थ्य परीक्षण गरिएको उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिए ।
उनका अनुसार शल्यक्रिया र परीक्षणका क्रममा दृष्टि समस्या देखिएका बिरामीलाई तत्काल उपचार गरिएको र आवश्यकता अनुसार निःशुल्क चस्मा समेत वितरण गरिएको थियो । बरालका अनुसार गाउँघरमै सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यस किसिमका शिविर नियमित रूपमा सञ्चालन गर्दै आएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रले यस पटक पनि विराटनगर आँखा अस्पतालका दक्ष विशेषज्ञको टोलीलाई खाँदबारीमा ल्याएर सेवा प्रदान गरेको हो ।
दुई दिनसम्म चलेको शिविरमा उपचारका लागि आएका बिरामीलाई स्वास्थ्य परीक्षण, आँखा चेकजाँच, शल्यक्रियासम्बन्धी तयारी तथा आवश्यक परामर्श दिइएको थियो । धेरैजसो बिरामी मोतिया बिन्दुका कारण दृष्टि धमिलो, उज्यालोमा देख्दा समस्या र आँखामा पानी झर्ने जस्ता लक्षणका साथ आएका थिए ।
शिविरले विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई ठुलो लाभ पुर्याएको बरालले बताए । उनका अनुसार, आकस्मिक अवस्थाका बिरामीलाई भने विराटनगर आँखा अस्पतालमा रेफर गरिएको छ ।
