साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईका अनुसार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत आफ्नो पालिकाक्षेत्रमा पर्ने सेखुवा–झगरपुर–चखेवा खण्डमा सडक अपूरै रहेको र त्यसमा पनि वर्षाले बिग्रिएपछि जनश्रमदानबाट मर्मत गर्न सुरु गरिएको हो ।
खोटाङ — वर्षाले बिग्रिएको मध्यपहाडी लोकमार्गअन्तर्गत सेखुवा–झगरपुर–चखेवा सडक श्रमदानबाट मर्मत सुरु गरिएको छ । चाडबाड नजिकिँदै जाँदा सडकमा समस्या झेल्न नपरोस् भनेर जनश्रमदानमार्फत शुक्रबारबाट मर्मत सुरु गरिएको हो ।
साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईका अनुसार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत आफ्नो पालिकाक्षेत्रमा पर्ने सेखुवा–झगरपुर–चखेवा खण्डमा सडक अपूरै रहेको र त्यसमा पनि वर्षाले बिग्रिएपछि जनश्रमदानबाट मर्मत गर्न सुरु गरिएको हो ।
सरकारले चासो नदेखाएपछि मर्मतमा जुटेको राईले सुनाए । ‘साकेला गाउँपालिका क्षेत्रमा मध्यपहाडी लोकमार्ग अपूरै छ, त्यसमाथि पनि वर्षादले भत्किएपछि चाडबाडमा यात्रुले समस्या झेल्नु नपरोस् भनेर मर्मत सुरु गरिएको हो,’ उनले भने ।
उक्त सडक मर्मतमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा स्थानीयको सहभागितामा करिब एक किलोमिटर सडक मर्मत गरिएको राईले बताए । करिब १० किलोमिटर सडक भत्किएको छ ।
सडक मर्मतका लागि मध्यपहाडी आयोजना र साकेला गाउँपालिकाको एक्स्काभेटर प्रयोग गरिएको छ । भत्किएको सडक नसकिन्जेल श्रमदानमार्फत मर्मत गरिने राईले बताए ।