सुनसरीको झुम्का कारागारमा दुई कैदीको मृत्यु

उराँव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए । उनलाई अदालतले २५ वर्ष सजाय तोकेकोमा २०७७ सालदेखि कैद सजाय भोगिरहेका थिए । राई लागुऔषध मुद्दामा गत वैशाखदेखि पुर्पक्षका लागि थुनामा थिए ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Two prisoners died in Sunsari's Jhumka Jail

What you should know

धरान — सुनसरीको झुम्का कारागारमा फेरि दुई जना कैदीबन्दीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-१० का २४ वर्षीय सागर राई र सुनसरीको गढी गाउँपालिका-६ बस्ने ४८ वर्षीय रामदेव उराँवको मृत्यु भएको हो ।

उराँव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए । उनलाई अदालतले २५ वर्ष सजाय तोकेकोमा २०७७ सालदेखि कैद सजाय भोगिरहेका थिए । राई लागुऔषध मुद्दामा गत वैशाखदेखि पुर्पक्षका लागि थुनामा थिए ।

दुवै जनामा श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको निमित्त जेलर राम निरौलाले बताए । उनले भने, ‘उनीहरुमा पहिला कुनै समस्या थिएन, अचानक बिरामी भएर बीपी प्रतिष्ठान अस्पताल लग्यौ तर उपचारकै क्रममा मृत्यु हुन पुग्यो ।’ उनका अनुसार उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएकोमा उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको निमित्त जेलर निरौलाले बताए । त्यस्तै अर्का कैदी राईको मंगलबार बिहान मृत्यु भएको जेलर निरौलाले बताए ।

दुवै जनाको शव आफन्तले बुझी लगेको सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए । कारागारमा एकै दिन दुई जनाको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिएको उनले बताए ।

१३ दिनको अन्तरालमा मात्र झुम्का कारागारमा कैद भुक्तान गरिरहेका ३ जना कैदीहरुको मृत्यु भएको छ । यसअघि भदौ ४ गते धरान १२ बस्दै आएका भोजपुर हतुवागढीका २८ वर्षीय विकास राईको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा खराबी भएपछि बीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

एसपी तिमल्सिनाका अनुसार लागुऔषध मुद्दामा सजाय भुक्तान गरिरहेका कैदीहरु प्राय: दिर्घरोगी हुन्छन् र घरीघरी बिरामी हुनेको संख्या पनि बढ्दो छ । दिर्घरोगी तथा बिरामी कैदीहरुका लागि सुरक्षा समितिले कारागारको दुवै ब्लकमा स्वास्थ्य विवरण लिने र गम्भीर स्वास्थ्य समस्या भएका कैदीलाई स्थानान्तरण गर्नेसम्मका योजना बनाएको एसपी  तिमल्सिनाले जानकारी दिए । झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७९४ जना कैदी रहेका छन् ।    

कान्तिपुर

Link copied successfully