सशस्त्र प्रहरी बलले सुनसरीको श्रीपुर नाकामा रहेको बोर्डर आउटपोष्टको नयाँ भवन निर्माणले सुरक्षा व्यवस्थामा सहज हुने जनाएको छ।
सुनसरी — भारतसँग ६१ किलोमिटर सीमा जोडिएको सुनसरीको श्रीपुर नाकामा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टको भवन उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बलको ४ नम्बर गणको आयोजना भएको समारोहमा सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति तथा डिआइजी कुमार न्यौपानेले भवनको उद्घाटन गरेका हुन् ।
सीमा क्षेत्रमा पर्याप्त स्रोत–साधन बिना चोरी–तस्करी, भन्सार छली र सीमाको सुरक्षामा खटिएको जनशक्तिलाई नयाँ भवनबाट काम गर्न थप सहयोग पुग्ने ४ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सीमाको निगरानी र सीमावासीको सुरक्षाका लागि सशस्त्र प्रहरीले कोशी प्रदेशका ४८ वटा बोर्डर आउटपोष्टबाट ६८९.३ किलोमिटर सीमाको रक्षा गरिरहेको छ । ६१ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको सुनसरीमा दुई वटा सीमा गुल्म र ९ वटा सीमा आउटपोष्ट रहेका छन् । ती स्थानमा २ सय ५० जना सुरक्षाकर्मी खटिएका छन् ।
पर्याप्त जनशक्तिको अभावमा पनि भन्सार चोरी–निकासी, पैठारी र आपराधिक क्रियाकलापमा शून्य सहनशीलताको नीति अवलम्बन गरिरहेको एसपी थापाले जानकारी दिए ।
सीमा क्षेत्रमा एउटा आउटपोष्टबाट अर्को आउटपोष्टको दूरी साढे ६ किलोमिटर पर्ने भएकाले सीमा सुरक्षामा चुनौती थपिएको थापाको भनाइ छ ।
