अलैँची व्यवसायी महासंघको अध्यक्षमा नेपाल 

महाधिवेशनले नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्षमा चयन गरेको छ ।

भाद्र १४, २०८२

आनन्द गौतम

Nepal in the chairmanship of the Cardamom Traders Federation

ताप्लेजुङ — नेपाल अलैँची व्यवसायी महासंघको नवौँ वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशनबाट पाँचथरका दीपक नेपाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । 

झापा बिर्तामोडमा शनिबार भएको महाधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशनले नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्षमा चयन गरेको छ । 

प्रज्वल बिमली महासचिव, रामकृष्ण विष्ट कोषाध्यक्ष, प्रेम राई र संजीव घिमिरे सहसचिवमा चयन भएको नवनिर्वाचित अध्यक्ष नेपालले जानकारी दिए । सर्वसम्मतको निर्णयपछि त्यहीअनुसार मनोनयन दर्ता गरिएको छ ।

अध्यक्षको प्रतिस्पर्धामा नेपाल, चिमरिया र ओम विमली रहेका थिए । नेपाल अध्यक्ष, चिमरिया वरिष्ठ उपाध्यक्ष र ओमका छोरा प्रज्वललाई महासचिवमा राखेर समिति सर्वसम्मत भएको सहभागीले जनाएका छन् । 

ताप्लेजुङका व्यवसायी बालमणि बराल कोशी प्रदेश संयोजक भएका छन् । अधिवेशनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्‌घाटन गरेका थिए । पछिल्ला वर्ष नेपालबाट सबैभन्दा बढी दोस्रो देश निर्यात हुने सूचीमा अलैंची पनि पर्ने गरेको छ । काँकडभिट्टा नाकाबाट बढी निर्यात हुने गरेको छ । नेपालमा उत्पादन हुने जिल्ला भने ४३ पुगिसकेका छन् । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully