पत्रकार महासंघको तीव्र आपत्ति र विरोधपछि कोशी प्रदेशसभाले आमसञ्चार विधेयकलाई पारित गर्ने कार्यसूचीबाटै हटाएको छ ।
विराटनगर — पत्रकार महासंघको तीव्र आपत्ति र विरोधपछि कोशी प्रदेशसभाले आमसञ्चार विधेयकलाई पारित गर्ने कार्यसूचीबाटै हटाएको छ ।
गत ४ गते प्रदेशको न्याय तथा विधायन समितिले पारित गरेको यो विधेयक ६ गते प्रदेशसभामा पेस गरिएको थियो । तर, विधेयकमा रहेका कतिपय दफा प्रेस स्वतन्त्रता हनन गर्ने र पत्रकारविरोधी छन् भन्ने प्रश्न सार्वजनिक रूपमा उठेपछि यो अगाडि नबढ्ने पक्का भएको हो ।
प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिले शुक्रबारको बैठकको कार्यसूचीमा यसो विधेयकलाई नराख्ने निर्णय गरेको छ ।
विधेयकका केही प्रावधानले पत्रकारिता स्वतन्त्रतालाई सीमित गर्ने, समाचारको प्रकाशन/प्रसारणमा अनावश्यक प्रतिबन्ध लगाउने र सरकारी हस्तक्षेप बढाउने सम्भावना देखिएपछि स्थानीय तथा राष्ट्रियस्तरका पत्रकार संगठनहरूले विरोध गर्दै आएका थिए ।
यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बर्खे अधिवेशनमा विधेयक अघि बढ्न नसक्ने संकेत गरिसकेका थिए ।
