राष्ट्रपति पौडेलले संखुवासभाको मादी माविको ७५औं वार्षिकोत्सव उद्घाटन समारोहमा हिरक स्तम्भ र सरस्वतीको मूर्ति अनावरण गर्ने छन्।
संखुवासभा — राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार संखुवासभा आउने भए पछि मादी नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
राष्ट्रपति पौडेलले मादी माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सव तथा हिरक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नगरप्रमुख जीवन लिङथेपले बुधबार जारी गरेको विज्ञप्तिमा नगर अन्तर्गतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्था बन्द रहने उल्लेख गरिएको छ ।
मादी माध्यमिक विद्यालय, संखुवासभाका पुराना र प्रमुख शैक्षिक थलोमध्ये एक हो । यस विद्यालयले ७५ वर्षको शैक्षिक यात्रालाई विशेष समारोहमार्फत सम्झन र भावी पुस्तामा थप उर्जा भर्न ‘हिरक महोत्सव’ आयोजना गर्न लागेको हो ।
महोत्सवमा राष्ट्रपति पौडेलले विद्यालयको ७५औं वार्षिकोत्सवको औपचारिक उद्घाटन गर्नुका साथै विद्यालय प्राङ्गणमा निर्मित हिरक स्तम्भको अनावरण र विद्या, शिक्षा र ज्ञानको प्रतीकका रूपमा स्थापित सरस्वतीको मूर्तिको पनि अनावरण गर्ने कार्यक्रम तय गरिएको छ ।
