किसानहरूले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा व्यापारीले अनुदानको मल महँगोमा बेच्दै आएको आरोप लगाएका छन्।
What you should know
उदयपुर — सरकारले अनुदानमा किसानलाई वितरण गर्न पठाएको २ सय बोरा रासायनिक मल उदयपुरको कटारीस्थित एक व्यापारीको गोदाममा फेला परेको छ । कटारीका व्यापारी दिलिप चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सको गोदाममा लुकाएर राखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले बिहीबार मल बरामद गरेको हो ।
फेला परेको मलसहित गोदामलाई तत्काल शिलबन्दी गरेर छानबिन प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिए । उनले भने, 'मल कहाँबाट आयो? कस–कसको संलग्नता छ भन्ने विषयमा छानबिन गर्न र आवश्यक कारबाही गर्न कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका छौं।'
कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले पनि घटनाबारे छानबिन समिति गठन गरिने र दोषीमाथि कानुनअनुसार कारबाही हुने बताए । जिल्लामा रासायनिक मल अभाव भइरहेका बेला अनुदानमा किसानलाई उपलब्ध गराउनुपर्ने मल व्यापारीको गोदाममा भेटिनु शंकास्पद रहेको स्थानीयवासीहरूको भनाइ छ। किसानहरूले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा व्यापारीहरूले अनुदानको मल कालोबजारी गर्दै आएको आरोप लगाएका छन्।
कटारी नगरपालिका–४ का किसान ध्रुव रोकाले भने, 'मल नपाएर खेतमा धान फस्टाउन सकेको छैन। कृषि सहकारीले मल आएको छैन भन्दै पटक–पटक रित्तो हात फर्किनुपर्यो। तर व्यापारीले सेटिङ गरेर मल ल्याएर महँगोमा बेच्ने गरेका छन्।
सरकारले स्थानीय तहको सिफारिसमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत सहकारी संस्थामार्फत किसानलाई मल पुर्याउने व्यवस्था गरेको छ। तर कटारीमा व्यापारीको गोदाममा अनुदानको मल भेटिनुले त्यसको दुरुपयोग भएको देखिएको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले कटारी बजारका २८ वटा पसलमा अनुगमन गर्दा कानुनविपरीत व्यापार गर्ने दुई पसललाई कारबाही गरेको छ। अखाद्य तथा म्याद गुज्रिएका करिब १ लाख २० हजार मूल्यबराबरका चामल, मसला, पेय पदार्थ, सुर्ती लगायतका सामग्री जफत गरी नष्ट गरिएको इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला राईले जानकारी दिइन्। कानुनविपरीत व्यापार गरेको आरोपमा कटारीस्थित अञ्जली पाउरोटी उद्योग र रञ्जना स्टोर्सलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
